पूर्वन्यायाधीशको अध्ययन समितिको निष्कर्ष, न्यायालयमा भेष बदलिएका बिचौलियाको दबदबा

काठमाडौं, बैशाख २९ । पूर्वन्यायाधीशको फोरम गरेको अध्ययन समितिले न्यायालयमा विभिन्न भेष बदलिएर आउने बिचौलियाले प्राथमिकता पाइरहेको निष्कर्ष निकालेको छ । त्यस्ता बिचौलियाले न्यायालयको न्यायिक निर्णयमा समेत प्रभाव पार्ने गरेको समितिको भनाइ छ । फोरमको पछिल्लो प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

 

बिचौलियाका कारण न्यायालयप्रति विश्वास घट्दै जानुका साथै न्यायिक धरोहरलाई समेत धराशायी बनाउने काम बिचौलिया र राजनीतिक हस्तक्षेपले पार्दै गइरहेको सो निष्कर्षमा उल्लेख छ । ‘न्यायालयमा बिचौलिया विभिन्न वेशभूषामा रहेका छन्,’ पूर्वन्यायाधीश मञ्चका सदस्य सुरेन्द्रसिंह बस्न्यातले भने, ‘नातावाद र कृपावादका कारण न्यायालयमा विचौलियाको राज बढिरहेको छ ।’

 

पूर्वन्यायाधीशले न्यायालय गलत बाटोमा जान थालेकोप्रति समेत टिप्पणी गरेका छन् । त्यस्ता बिचौलियाहरू राजनीतिक दल एवं सामाजिक कार्यकर्ताका रूपमा न्यायालयमा घुसिरहेको पूर्वन्यायाधीशको अध्ययन समितिले निकालेको प्र्रतिवेदनमा उल्लेख छ । प्र्रतिवेदनअनुसार बिचौलियाहरू वकिल, न्यायकर्मीको भेषमा रहने गरेको पूर्वन्यायाधीश समितिको भनाइ छ ।

 

पूर्वन्यायाधीश समाजको सो प्रतिवेदनमा न्याय परिषद्मा राजनीतिक नेतृत्व हावी भएकाले प्रधानन्यायाधीशकै नियुक्तिमा समेत राजनीति हाबी भएको उल्लेख छ । अदालतमा मुद्दा परेपछि बिचौलियाको चलखेल सुरु हुने गरेको पूर्वन्यायाधीशहरूको भनाइ छ ।

 

न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् भने तीन सदस्य राजनीतिक नियुक्तिका रहने गरेका छन् । अदालतका तर्फबाट अल्पमत हुने भएकाले राजनीतिक तहले दबाबमा काम गराउन बाध्यसमेत पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

पछिल्लो समय न्यायालयमा राजनीतिक हस्तक्षेप प्र्रत्यक्ष रूपमा परेको समेत उल्लेख गरेका छन् । न्यायालय राजनीतिक प्र्रभावबाट मुक्त हुनुपर्ने हो तर न्यायाधीशले स्वच्छ भएर काम गर्ने वातावरण नभएको पूर्वन्यायाधीशको फोरमले निष्कर्ष निकालेको छ । सरकारवादी फौजदारी, अर्थ, आयकर वा यस्तै अरू मुद्दामा क्षणिक लोकप्रियता प्राप्त गर्ने विचारले कुनै न्यायाधीशले फैसला गर्न थालेको प्रतिवेदनको निष्कर्ष छ । त्यस्तो कार्य गर्दा सरकार वा केहीलाई फाइदा भए पनि समग्र रूपमा न्यायालय भने धराशायी हुने प्रतिवेदनमा उल्लेख छ । राजधानी दैनिकबाट।