हुम्लावासीलाई पिडा चामल ल्याउन बाटोमै १२ दिन

  हुम्ला,बैशाख ३१। हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दै छन् । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् । उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् । ‘खसीबोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो । घर फर्किँदा साता दिन लाग्छ । आउजाउमा १२ दिन,’ उनी भन्छन् । हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनुपरेको हो । ‘सर्केगाडमा चामल छैन,’ उनी भन्छन्, ‘भएको पनि पाउरवाला ठूलाबडाले मात्रै लिन्छन्, हामी गरिबलाई सधैँ मुगुकै चामल खानुपर्छ ।’

 

योसहित गरेर मुगुमा चामल लिन २१ पटक आएको उनको भनाइ छ । मुगु धाउनु सजिलो छैन । ‘बिहान तीन–चार बजे नै खसीबोका हिँडाउनुपर्छ । बाटोमा खाने समय पाइँदैन । बास बस्न पनि समस्या हुन्छ,’ उनले कैरन सुनाए ।

 

उनापानीकै ४२ वर्षीया बासकली रावत १६ पटक चामल लिन मुगु आइपुगेकी छिन् । आउँदाजाँदा बाटोमा कैयौँपटक खुला आकाशमुनि, जंगलको बीचमा वास बस्नुपरेको बासकलीले सुनाइन् । आफ्नै जमिनको उत्पादनले वर्षमा ६ महिना मात्रै खान पुग्ने उनको भनाइ छ । ‘६ महिना चामल किनेरै खानुपर्छ,’ उनले आफ्नै लवजमा भनिन्, ‘चामलकै लागि दिन खानु नाइँ न रात सिनु नाइँ ।’

 

बासकलीको साथमा उनका पति र गाउँका अरू पाँचजना छन् । चामल बोक्न एक सयवटा खसीबोका लिएर आएको उनले सुनाइन् । ‘घर पुगेर दुईचार दिन थकाइ मेटाउने अनि फेरि चामल लिन यतै आउने,’ उनले आफ्नो आगामी योजना पनि बताइन् । याे समाचार नयाँ पत्रिकादैनिकबाट।

गाउँमा ३० किलो चामलको चार हजार

ठेकेदारको लापरबाहीले समयमा चामल ढुवानी नहुँदा हुम्ली नागरिकले सधैँ चामल लिन मुगु धाउनुपर्ने बाध्यता छ । यो क्रम वर्षेनी दोहोरिइरहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि ठेकेदारले हुम्लामा चामल ढुवानी गरेका छैनन् । यसबारे कसैले चासो र पहल पनि लिएको छैन ।

 

मुगु खाद्य शाखामा ३० किलो जापानी मोटा चामलको मूल्य १५ सय ८० रुपैयाँ पर्छ । त्यही चामल हुम्लाको उनापानी गाउँमा किन्दा तीनदेखि चार हजार रुपैयाँ पर्छ । ‘चार हजार हालेर पनि गाउँमा चामल पाइँदैन । नजिकको सर्केगाड डिपोमा जहिले गए पनि चामल छ भन्दैनन्,’ २०औँ पटक चामल लिन आएका उनापानीकै दानबहादुर रावतले सुनाए ।

 

गत ५–६ वर्षयता हुम्लाका मानिस खसी, बोका, भेडा, खच्चर ल्याएर मुगुबाट चामल लैजान्छन् । धानबाली अत्यन्त कम हुने हुम्लाका बासिन्दाले आठ–दश दिन धाएर चामल लैजानु नौलो प्रचलन नभएको खाद्य शाखा मुगुका प्रमुख भरत खनियाँले बताए । यो शाखाबाट हुम्लावासीले वर्षमा पाँच सय क्विन्टलसम्म चामल लैजाने गरेको उनको भनाइ छ । वैशाख दोस्रो सातायता मात्रै १५ क्विन्टलभन्दा बढी चामल हुम्लावासीले लगेका छन् । उनका अनुसार हुम्लाको सर्केगाड डिपोमा यो वर्ष ११ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा हालसम्म पाँच सय ५० क्विन्टल मात्रै ढुवानी भएको छ ।