संविधानमा एकल महिला अधिकार सुनिश्चित:राष्ट्रपति

काठमाडौँ,जेठ १२। राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार भनेको पनि मानव अधिकार नै हो भनेर सुरू गरिएको अभियानले वृहत् रूप लिएको बताउनुभएको छ ।

मानव अधिकारका लागि एकल महिला संस्थाको २५ औँ वर्षगाँठ ९रजत जयन्ती० को अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सो संस्थाले हात्तीगौंडामा निर्माण गरेको छहारी सुरक्षित घर को उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सामाजिक सांस्कृतिक कुरीति अन्त्य गर्न संवैधानिक सङ्कल्पले कानुनी रूप लिएको अहिलेको अवस्थामा केही सहज वातावरण तयार भएको बताउनुभयो ।

संविधानको मौलिक हकमै एकल महिलाको अधिकार सुनिश्चित गरिएको जानकारी दिंदै एकल महिला सुरक्षा कोषको समेत व्यवस्था गरी एकल महिलाको सहज जीवनयापन र उनीहरूको पीडा कम गर्ने काम सरकारको तर्फबाट जारी छ भन्नुभयो ।

साथै विकासको बाटोमा अगाडि बढिरहेको हाम्रो देशमा विस्तारै विकृति, कुरीतिको पनि अन्त्य हुँदैछ, त्यस्तो काममा एकल महिला संस्थाले थालेको अभियानले पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले महिलाप्रति संवैधानिक र राजनीतिक भेदभाव टुङ्गिए पनि सामाजिक ÷आर्थिक भेदभाव भने कायमै रहेको बताउनुभयो ।

समाजमा रहेको त्यस्तो भेदभावलाई हटाउन एकल महिला जस्तो सङ्गठनको सशक्तीकरणको अभियान प्रभावकारी भएको बताउनुभयो ।
उहाँले स्पष्ट योजना, खाकासहितको प्रस्ताव पेस भए संस्थालाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अहिलेको सन्दर्भमा महिलाप्रतिको धारणा केही परिवर्तन आए पनि महिलाप्रति गरिने व्यवहार, चिन्तनमा भने परिवर्तन नआएको विचार व्यक्त गर्नुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत एकल तथा समग्र महिलाको विकास, परिवर्तनमा वृहत काम भइरहेको उहाँले बताउनुभयो ।

हिंसामा परेका महिलाले सुरक्षा, सीप, दक्षता पाउने यो छहारी, महिलाको आर्थिक विकास, सशक्तीकरण गराउने भवनको रूपमा रूपान्तरण होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

मानव अधिकारका लागि एकल महिलाका संस्थापक लिली थापाले समाजमा वैवाहिक अवस्थाका कारण हुने विभेदविरूद्ध २५ वर्ष अगाडि थालेको अभियानले देशभरका एकल महिलालाई एकजुट गरेर अगाडि बढ्न सकेकोमा खुसी व्यक्त गर्नुभयो ।
दक्षिण एसियामै एकल महिलाको अवस्था नाजुक भए पनि नेपालमा संस्थाले उनीहरूको सशक्तीकरणमा साथ दिंदै छहारी घर समेत निर्माण गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कुन्दा शर्माले यस संस्थामा हाल देशभर एकलाख २५ हजार एकल महिला आवद्ध भएर जीवनपयोगी सीपसहित सम्मानपूर्वक समाजमा काम गरिरहेका छन् भन्नुभयो ।

सो अवसरमा मानव अधिकारका लागि एकल महिला संस्थाका लागि सहयोग गर्ने संस्था, व्यक्तिलाई सम्मान गरिएको थियो ।
संस्थाको रजतजयन्तीको अवसरमा मुलुकभरका पाँच सय एकल महिलाको सहभागितामा उत्पादन गरिएका सबै जिल्लाका उत्पादनको स्टल पनि राखिएको छ ।यो समाचार गोरखापत्रबाट।