गएको ७ महिना यता ५ जना गर्भवतीको हवाइ उद्धार


नहकुल जोशी-

बाजुरा,जेठ २०।बाजुरामा फेरी पनि प्रसुती हुन नसकेकी एक जना महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक रावतवाडाकी २२ बर्षिया रमिला रोकाया विष्ट प्रसुती हुन नसकेपछि समिट एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

प्रसुती ब्यथा लागे पछि प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएकी रोकायाको प्रसुती प्रक्रिया शुरु भएको र सो प्रक्रिया अगाडी नबढेका कारण समस्या आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डाक्टर गणेश चौधरीले बताए । रमिला रोकायाको बच्चा जन्मीन सक्ने अवस्था नभएपछि सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको सहयोगमा समिट एयरको हेलीकप्टर मार्फत थप उपचारका लागि नेपालगंज पु¥याइएको हो ।

गयको ६÷७ महिना यता ५ जना महिलाको प्रसुती हुन नसकेर हेलिकप्टर र हवाईजहाँज चार्टर गरेर उपचार गर्नुपरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन ।

रमिलाको बच्चा बाहिर आउने बाटो नमिलेको र साघुरो अवस्थामा रहेकाले बच्चा आउन नसकेको र बच्चाले दिसा समेत खाएको अवस्था भएकाले यहाँबाट रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर चौधरीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा अप्रेसन गरेर बच्चा जन्माउने प्रविधी सिइओएनसी सेवा नहुदा प्राथमिक स्वास्थ्य केन्द्रले यस्ता थुप्रै केशहरु रिफर गरेर हवाई जहाज र हेलिकप्टर द्वारा उद्धार गर्नुपरेको छ ।

अप्रेसन गरेर डेलिभरी गर्ने सेवाका लागि स्वास्थ्य निर्देशनालयले पैसाको समेत ब्यवस्था गरेको भए पनि बुढीनन्दा नगरपालिकाले बेवास्ता गरेका कारण त्यो सेवा शुरु हुन नसकेको बताइने गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सिइओएनसी सेवाका लागि प्राथमिक स्वास्थ्य केन्द्रका डा सत्यकुमार साहीलाई टेनिङ समेत दिलाएको भए पनि उनको करार सकिए पछि नगरपालिकाले करार थप नगर्दा बाजुराका लागि आएको पैसा समेत फ्रिज जाने अवस्थामा रहेको बताएका छन ।

करारमा डाक्टर राख्नका लागि विज्ञापन समेत भएको र डा सत्यको दरखास्त परे पनि नगरपालिकाले करार सम्झौता नगर्दा सो समस्या भै रहेको एक स्रोतले जनाएको छ । कोल्टीमा अप्रेसन सहतिको सेवा नहुदा महिनौ पिच्छे समस्या भै रहेको भए पनि सम्वन्धीत निकायले भने कुनै चासो नदिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए।