एकैदिन ९ जनालाई सर्पले टोक्यो

 काठमाडौ,असार ३०। वर्षा सुरु भएसँगै रुपन्देहीमा सर्पदंशका घटना बढेका छन् । असार महिनामा मात्रै (असार १ देखि असार २८ सम्म)सर्पले टोकेका १२५ जना बिरामीलाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा ल्याइएको छ ।

 

रुपन्देहीमा सर्पदंशको उपचार भैरहवाको भीम र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र हुने गरेको छ । बुटवल दक्षिण पश्चिमका सर्पदंशका बिरामी उपचारका लागि भैरहवा आउने गरेका छन् भने अन्य क्षेत्रका प्रादेशिक अस्पताल बुटवल आउने गरेको पाईएको छ ।

 

असारमा भैरहवामा मात्रै उपचारका लागि १२५ जना आए पनि बुटवल क्षेत्रमा उपचारका लागि आउनेको संख्या पनि उत्तिकै छ । विगतका तुलनामा रुपन्देहीमा सर्पदंशका घटना अहिले बढिरहेका छन् ।

 

शुक्रबार रातिमात्रै रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार लगायतका स्थानमा सर्पदंशका ९ घटना भएका छन् । सर्पले टोकेका ९ बिरामीको उपचारका लागि शनिबार बिहानसम्म भैरहवास्थित भीम अस्पतालमा ल्याइएको अस्पतालका अहेव शशिकान्त उपाध्यायले बताए ।

 

सर्पले टोकेर उपचारका लागि ल्याइएका बिरामीमध्ये २ जनालाई अति विशालु सर्प करेत र गोमनले टोकेको पाइएको र उनीहरूको उपचार भइरहेको अहेव उपाध्यायको भनाइ छ । मर्चवारी माई गाउँपालिकाकी १६ वर्षीय बालिका सोनमती हरिजनलाई रातको करिब साढे ८ बजे तिर घरभित्रै सर्पले हातमा टोकेको थियो । उनलाई करेत सर्पले टोकेको अभिभावकले बताएका छन् । सोनमतीका पिता राजकुमार हरिजनका अनुसार तरकारी पकाउने तेल दराजबाट निकाल्ने क्रममा छोरीलाई सर्पले टोकेको हो ।

 

त्यसैगरी सियारी गाउँपालिका–१ की २५ वर्षीय पुनम चाईलाई पनि शुक्रबार राति नै घरमा गोमन सर्पले टोकेको हो । दुवैजनालाई टोक्ने सर्पको वर्ग अति नै विषालु रहेकोले उनीहरूलाई उपचारकै सुरुवातमा एन्टिस्नेक भेनम सेरम (एसभीएस)१० भाइलका दरले चलाइएको अहेव उपाध्यायले बताए । सोनमतीको अवस्था गम्भीर देखिएकाले उनलाई थप ५ भाइल एन्टिस्नेक भेनम चढाइएको स्वास्थ्यकर्मीले जनाएका छन् । शुक्रबार राति सर्पदंशका कारण उपचारका लागि आएका अन्यलाई भने कम विषालु सर्पले टोकेको पाइएको छ । सबैको उपचार भीम अस्पतालमा भएको छ ।

 

वर्षा लाग्ने बित्तिकै सर्पदंशका घटना दैनिक बढिरहेका छन् । असार महिनाको १ गतेदेखि २८ गतेसम्म मात्रै भीम अस्पतालमा सर्पले टोकेका १२५ बिरामी उपचारका लागि आएका छन् । अस्पतालमा चैत १ देखि असार २५ सम्म सर्पले टोकेका ३३८ बिरामी आएका छन् । सर्पले टोकेका बिरामीमध्ये उपचारका लागि आएका कसैको पनि ज्यान गएको छैन।

 

अहिलेसम्म सर्पले टोक्ने बित्तिकै समयमै उपचारका लागि बिरामीलाई ल्याउने गर्दा उपचार सम्भव भएको छ, त्यसैले सर्पदंशका बिरामी भीम अस्पतालबाट निको भएर गएका छन्, अहेब उपाध्यायले भने । सर्पदंशको उपचार निःशुल्क हुने उनले बताए । सर्पले टोकेमा घाउलाई चलाउनु हँुदैन र टोकेको ठाउँमा चिरफार गर्न पनि नहुने चिकित्सक बताउँछन्।कारोबार दैनिकमा खबर छ।