अस्ट्रेलिया बस्ने ले पढ्नै पर्ने कुरा! के होला त्यस्तो कुरा ?पुरा पढ्नुहोस यस्ताे छ रहस्य ?

 अस्ट्रेलिया नेपालीका लागि सपनाको देश मानिन्छ। तर, यही सपनाको देश छाड्न दिनगन्ती गर्नेको पनि कमी छैन यहाँ।लाखौं खर्चेर अस्ट्रेलिया आउन सहजै तयार हुने मानिसहरू करोडौं सकेर रित्तो हात नेपाल फर्किएका उदाहरण प्रशस्त छन्।

 

यतिखेर नेपालमा फेसनकै विषय बनेको छ- अष्ट्रेलिया। बाबुआमालाई किचकिच गरेरै भए पनि लाखौं नगद बोकि बग्रेल्ती खुलेका कन्सलटेन्सी धाउने युवायुवतीको कमि छैन नेपालमा। घरबारी धरौटी राखेर होस या खेतबारी बेचेर नै किन नहोस् होस भिसा लगाउँन पाउँदा संसारै जितेको ठान्छन्।

 

यतिखेर अस्ट्रेलियामा करिब २२ हजार नेपाली बिभिन्न कलेज, प्राविधिक शिक्षालय र विश्वबिद्यालयमा अध्ययन गरिरहेको संख्याले पनि लोकप्रियताको मापन सहजै गर्न सकिन्छ।

 

फलानो जापान उड्यो र ढिस्कानो अमेरिका र युके पुगेको उदाहरण पेश गर्दै धनको मन बचेर नेपाली युवा पुस्ता बिदेसिन्छन्।कोही कोही बिहे नगरे पनि नक्कली साइत जुराएर डिपेन्डेन्ट पार्टनर खोज्ने र रकमको जोहो गर्ने प्रचलन बढेको छ।

 

मनको पीडा मुखमा नदेखाइ गगनचुम्बी भवन मुन्तीर र समुन्द्री छालमा तैरिएका केहि फोटा फेसबुकमा पोष्ट्याएको भरमा खुसीयाली जिन्दगीको भ्रम छर्नेहरू प्रसस्तै छन्।त्यसैले हुनेखाने पनि छोरी होस् वा ज्वाईँ बिदेसीनै खोज्ने परम्परा बसिसकेको छ।

 

उमेरको तगारोले छेकोस् वा कुलघरानले नमिलोस् अमेरिका र अस्ट्रेलिया बस्ने भए पुग्यो। छोरो र छोरी अस्ट्रेलिया छन् भनेर गाउँदेखि सहरसम्म ढोलक पिट्नेको पनि कमी छैन हाम्रो समाजमा। 

 

सुनेको भरमा अस्ट्रेलिया सबै थोक हो र डलर रूखमा फल्छ भन्नेको बाहुल्यता रहेको समाजमा यथार्थ लुकिरहेको छ।सतही अनुमानका भरमा अस्ट्रेलियामा काम गर्नु पर्दैन, सारा सबै सुविधै सुविधा हुन्छ भन्ने ‘मनोरोग’ बोक्ने जमातले जरो गाडेको देखिन्छ।

 

संसारको जुन कुनामा गए पनि योग्यता बमोजिमको काम तथा बौद्धिक श्रम गर्नेपर्छ भन्ने सतही मूल्यांकन समेत गर्न नसक्नेको लागि अफाप सिद्ध भएको छ परदेश।मनमोहक, चिटिक्क सफा, सुन्दर देखिने सिड्नी मेलवर्न र ब्रिसबेन अनि पर्थ शहरले नेपाली विद्यार्थी र अभिभावकमा भ्रम छरेको देखिन्छ।

 

आठौं आश्चर्य भित्रको ओपेरा, क्रिकेटका एमसीजी अनि काममा पाइने दामले पनि मानिसलाई अस्ट्रेलियाले तानिरहेको पाइन्छ।नेपालमा बसेर अस्ट्रेलियाका बारेमा देखेको सपना र त्यहाँ पुगेपछि भोग्नुपर्ने विपनामा आकाश जमिनको अन्तर छ।

 

नेपालमा सपना देख्दा देख्दै अस्ट्रेलिया पुग्ने जो कोही त्यहाँ पुगेपछि झल्याँस्स ब्युँझिन्छन्। जब जब डलरका पहेला नोट निन्द्राका पलसँग साटिन्छन् अनि कलेटी परेका ओठ मुस्कानका मोडहरूमा बेचिन्छन्। तब मानिस साच्चिकै झस्याङ्ग हुन्छ र विदेसिनुको पीडा महसुस गर्छ।

 

रातभरको अनिदो शरीरलाई काम कोठा अनि कलेजको फीसमा परिणत गरेपछि हात लाग्यो शून्यको अवस्थामा एउटा विद्यार्थी रित्तो हात हुन्छ। तब उसले अस्ट्रेलिया आएको वास्तविक पीडा महसुस गर्न पाउँछ।

 

सरकारले पीआरको लागि कडाइ अपनाएपछि साधारण विद्यार्थीका लागि यहाँको आगमन ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाको अनुहार’ भनेझै हुने गरेको छ।

 

हप्तामा सातै दिन काम गर्न अत्यन्तै कठिन हुन्छ, कामको समयमा एक छिन बस्न पाइँदैन उभिएरै काम गर्नुपर्छ। काम सकिएपछि कतिखेर ढलूँ जस्तो हुन्छ। सामान्य सीप, दक्षता अनि अंग्रेजी भाषाको ज्ञान नभएकाको लागि त यो स्वर्ग हैन नर्क बराबर नै हो।

 

बिसौ लाख तिरेर टुरीस्ट भिसामा आउने र काम गर्ने सपना अस्ट्रेलियामा नदेखे हुन्छ। यो तपाईँ ठगिने र अरूले कमाउने दाउँ मात्र हो। किनभने भाषाको राम्रो कमान्ड नहुने र कागजपत्र नहुनेका लागि अस्ट्रेलिया कठिन गन्तब्य हो।

यहाँ लाखौं पैसा खर्च गरेर आउने विद्यार्थी र पीआर भएकासमेत काम र मामको टुंगो नुहँदा डिप्रेशनमा गएका कयैन उदाहरण छन्।

 

पछिल्लो महिना चार जना विद्यार्थीमध्ये दुईको मृत्यु डिप्रेसनका कारण भएको सुनिएको छ। त्यती मात्र होइन काम कोठा र माम अनि दामले मानिस एकोहोरो हुँदै गएको तथ्य पनि लुकेको छैन।

 

पाँच प्रतिशत ब्यवसायीक दक्षता र रोजेखोजेका काम पाएका नेपालीको जिवन खुसीयाली र हरियालीमा बितेको भएपछि पन्चानब्बे प्रतिशतको हालत भने एउटै तराजुमा जोखेको मुला जस्तै हो।

 

सबैले दिनरात परिश्रम गर्नेपर्ने हुन्छ। तर, अस्ट्रेलिया र अमेरिकाको भने केही फरक छ, अमेरिकाभन्दा अस्ट्रेलिया बस्नेको जीवनशैली केही सहज र फरक देखिन्छ।अस्ट्रेलिया छिरेका अधिकांश नेपाली आखिर के काम गर्छन् त? एज केयर (बूढाबूढी स्याहार्ने काम) धेरै नेपालीको कमाइको राम्रो बाटो बनेको छ।

 

त्यस्तै केयर टेकरको जागिर पनि धेरैलाई फलिफाप भएको छ। नेपाली मात्र होइन भारतीय, बंगाली, पाकिस्तानी, श्रीलंकनलगायत अधिकांश एसियाली आप्रवासीको कथा उस्तै छ।

 

विश्वविद्यालयमा मास्टर्सदेखि ब्याचलर गरेर बसेका क्लिनिङ र किचेनतिर भेटिनु सामान्य नै हो।क्लिनिङ अर्थात् सरसफाइ, धेरै दक्षिण एसियालीको रोजाइ र कमाइको राम्रो क्षेत्र बनेको छ अस्ट्रेलियामा।

 

कलेज र स्कुल र अफिस सरसफाइ गर्नुलाई राम्रो र सुरक्षित मानिन्छ। तर, पब रेस्टुरेन्ट र किचेन क्लिनिङलाई कठिन रूपमा लिने गरिन्छ।  यो पेशाले धेरै विद्यार्थीलाई राहत दिएको छ। प्रायः बिहानै र राति काम गर्नुपर्ने यसको मुख्य कठिनाइ हुन्।

 

घन्टाको १८ देखि २५ डलरसम्म पाइने यस्ता कामलाई नेपाली भाषामा फोहोरी काम भन्ने गरिन्छ। अधिकांश नेपाली युवा विद्यार्थीदेखि भविष्य खोज्न यहाँ आएका डाक्टर र इन्जिनियर यो काममा लागेका भेटिन्छन्।

 

बिहान र बेलुका गरी दुई सिफ्टसम्म चल्ने यस्ता काम गर्ने नेपालीको सिड्नी, मेलबर्न र ब्रिसबेनजस्ता सहरमा घुइँचो लाग्ने गर्छ।

 

यस्तो काम गरेर नेपालीले हप्ताको आठदेखि एक हजार डलरसम्म कमाउने गर्छन्। पब र रेस्टुरेन्ट क्लिनिङ भने रातभर चल्छ। महंगो पढाइ र बसाइले पनि उनीहरूलाई यस्तो काम गर्न बाध्य पारेको हो। यतिखेर त अस्ट्रेलिया सरकारले कलेज वा युनिभर्सिटी सम्बन्धी नयाँ र कडा निर्णय गरेपछि विद्यार्थीको बेहाल भएको छ।

 

२० घन्टे कामले उनीहरूलाई खान र बस्न मात्र पुग्छ, वर्षको २० औं लाखको फीस कसरी तिर्ने भन्ने चिन्ताले उनीहरू दिनरात नभनी क्यास र ट्याक्समा भिड्न बाध्य छन्।

 

अध्यागमन कानुन पनि समानता र कठोर पालनामा आधारित छ। भनिन्छ, अस्ट्रेलियाको अध्यागमन कानुन धेरै जटिल र बुझ्न कठिन छ।आप्रवासीहरू त्यही कठिन र जटिल कानुनको मातहतमा रहनुपर्ने र सतप्रतिशत पालना गर्नुपर्ने सर्तमा प्रवेशषाज्ञा (भिसा) पाएका हुन्छन्।

 

हाम्रो जस्तो फितलो कानुनी राज्यबाट यहाँ आएका मानिसलाई यसको सही पालना गर्न नसक्दा भोग्नुपरेका कठिनाई वर्णन गर्न त्यति सजिलो छैन। यस्तो कठिनाईबाट बच्ने एउटै मात्र उपाए भनेको यसको सही र सतप्रतिशत पालना गर्नु नै हो।

 

अस्ट्रेलियालाई अवसरै अवसरको देश भन्छन्। तर, यहाँको अवसरले कति नेपाली बने या मुलुक कति बन्यो भन्ने कुरा चाँही गर्भमै रहेको छ। बरू नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा भने करोडौं लगानी गरिरहेका छन्। के यही हो नेपालीको सफलता?साभार, सेताेपार्टीबाट ।