हराएको चार दिनपछि मृत अवस्थामा फेला

पाल्पा,असाेज१४ ।रिब्दीकोट गाउँपालिका– ३ खस्यौलीका विष्णुबहादुर थापा हराएको चार दिनपछि आज मृत अवस्थामा फेला परेका छन् । शुक्रबार गाडी चढेर ससुराली हिँडेका ३५ वर्षीय थापा रिब्दीकोट गाउँपालिका– ८ पालुङग मैनादीको खातुङ्ग जङ्गलको तल्लो भागमा मृत अवस्था भेटिएको आफन्त वसन्त थापाले बताउनुभयो ।

 

कुसुमखोला मैदानी सडकदेखि झण्डै ४०० मिटर तल जङ्गलमा मृत्यु देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेको हो । आफन्त वसन्तसहित तीन जना आफन्त गाडी लिएर खोज्न जाँदा खातुङ्गको बाटोमुनि चप्पल र झोला देखिएको थियो ।

 

सोही स्थानमा खोजतलास गर्दा तल खोल्सामा मृत अवस्थामा शव भेटिएको प्रहरीको दाबी छ । आफन्त वसन्तका अनुसार मृतक थापाको एक छोरा एक छोरी छन् । थापाले मजदूरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका थिए ।रासस