१० दिनमा १० लाख यात्रु बाहिरिए ,बढी भाडा लिने २ सय ८ जनालाई कारबाही

काठमाडौँ,असाेज १५। टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन् ।

 

६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । त्यस्तै यात्रुसँग बढी भाडा लिने २०८ जनालाई कारबाही गरिएको छ । ‘यात्रुसँग बढी भाडा लिने केहीलाई ठाउँकाठाउँ जरिवाना गरिएको छ,’ प्रमुख ढकालले भने, ‘केहीलाई थुनामा राखेर समेत कारबाही अगाडि बढाइएको छ ।’ उनका अनुसार उपत्यकाका १४ स्थानमा यात्रुलाई सहजता प्रदान गर्न नागरिक सहायता कक्ष राखिएको छ । जहाँ सबैभन्दा बढी गुनासा टिकट नपाएको आएको छ ।

 

‘सुरक्षा योजना कार्यान्वयन गरिरहँदा नागरिक सहायता कक्षमा १० वटा गुनासा दर्ता भएका छन्, मौखिक गुनासा धेरै छन्,’ उनले भने, ‘धेरै गुनासा टिकट नपाएको, सिट नम्बर उल्लेख नभएको, बढी भाडा लिएको, टिकट काटेर यात्रु नलिई गएको, गाडी नम्बर फरक परेको भन्ने छ ।’

 

उनले गुनासासमेत कार्यान्वयन गर्दै आएको बताए । नयाँ बसपार्कबाट बाहिरिने गाडीको अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्ने गरिएको छ । यात्रु लिएर हिँडेका गाडीलाई एकरदुई किमिभित्रमा मादक पदार्थ सेवन गरेको छरछैन भनेर चेकजाँच गर्ने गरिएको छ । गाडीमा अनिवार्य रूपमा भाडादर टाँस्न लगाइएको ट्राफिक प्रहरीको दाबी छ । ‘चाडबाडमा धेरै दुर्घटना हुन्छन्,’ उनले भने, ‘दुर्घटना कम गराउन चेकजाँचमा कडाइ गरेका छौं, उपत्यकामा मात्र ४५ ठाउँमा चेक प्वाइन्ट खडा गरेका छौं ।’

 

त्यस्तै लामा दूरीका साधनलाई नागढुंगाबाट ट्राफिक कम्युनिकेसन एप्समार्फत चालक परिवर्तन गरेरनगरेको बारे हेर्ने गरिएको छ । नागढुंगाबाट बाहिरिने हरेक गाडी र चालकको फोटो खिच्ने गरिएको छ । ‘लामो दूरीका गाडीलाई एप्समार्फत निगरानी राख्ने गरिएको छ,’ उनले भने, ‘लामो दूरीमा दुईजना चालक राख्न भनिएको छ, चालक परिवर्तन नगर्ने १५ जनालाई कारबाही गरिएको छ ।’

 

क्षमताभन्दा बढी यात्रु बोक्ने ३८ वटा सवारी साधन कारबाहीमा परेका छन् । नागढुंगा–नौबिसे सडकमा बिग्रिएका ८० वटा सवारी साधनलाई र्‍याकरमार्फत झिकेर सडक सहज बनाइएको छ । सादा पोसाकका प्रहरी बसपार्क क्षेत्रमा परिचालन गरेर कालो बजारी भएरनभएको हेर्ने गरिएको छ ।

 

‘लाखौं यात्रु बाहिरिँदा अझै जाम किन भन्ने प्रश्न आउने गरेको छ,’ उनले भने, ‘विभिन्न जिल्लाबाट आफन्त लिन निजी सवारी साधन लिएर आउने धेरै छन्, ती बाहिरिने क्रम भइरहेको छ, यता ठाउँठाउँमा आयोजना हुने कार्यक्रमले गर्दा पनि जाम भइरहेको छ ।’ उनले यात्रु बोकेर तीव्र गतिमा सवारी चलाउने १५ जना चालकलाई कारबाही गरिएको छ ।

 

विभिन्न जिल्लासँग जोडिएका राजमार्गमा पनि प्रहरी परिचालन गरेर कडाइ गरिएको छ । ‘काउन्टरबाट हिँडेपछि बीचबीचमा यात्रु हाल्ने, टिकट काट्ने प्रवृत्तिलाई रोक्न ठाउँठाउँमा प्रहरी परिचालित छन,’ उनले भने, ‘भेटेसम्म प्रहरीले कारबाही गर्ने गरेको छ ।’ यता यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार गुल्मी र अर्घाखाँची जाने यात्रुलाई गाडी नपुगेको गुनासो आएपछि १७ वटा गाडी झिकाइएको छ । गाडी आएपछि समस्या नहुने बताए ।

 

‘नाकामा कतै पनि जाम छैन, मालवाहक सवारी साधनलाई ठाउँठाउँमा रोकेका छौं,अत्यावश्यक सामान बोकेर आउने साधनलाई भने खुला गरेका छौं,’ उनले भने, ‘नुवाकोट जाने सडकमा समस्या आएको थियो, अहिले गाडी चल्न सक्ने बनाइएको छ, यो खण्डमा पनि निर्माण सामग्री बोक्ने साधनलाई प्रवेशमा रोक लगाएका छौं ।’ १२ देखि १९ गतेसम्म देशभरका गाडीको रुट परमिट खुला गरिएको छ । त्यस्तै मालवाहक सवारी साधनलाई चितवनमै रोकिएको छ ।कनन्तिपुरदैनिकमा खबर छ।