जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन गरे ५ हजार जरिवाना

रुकुम पश्चिम,असाेज १५। मदिरा सेवन गर्ने जनप्रतिनिधि र कर्मचारीले ५ हजार जरिवाना तिनुपर्ने भएको छ । सानीभेरी गाउँपालिकाले मदिराजन्य पदार्थ सेवन गरेको पाइएमा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।

 

गाउँपालिकास्तरीय सुरक्षा समितिको बैठकले मदिरा सेवन गर्ने जनप्रतिनिधि तथा कर्मचारीलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो । विभिन्न समिति तथा संगठनमा आबद्ध व्यक्तिहरुलाई ३ हजार र सर्वसाधारणलाई १ हजार ५ सय जरिवाना गरिनेछ । यदि दोस्रोपटक उही व्यक्ति मदिरा सेवन गरेको भेटिएमा त्यसको दोब्बर जरिवाना तिर्ने गरी निर्णय गरिएको छ ।

 

यसैगरी सरकारी सवारी साधनको दुरुपयोग बढेपछि सानीभेरी गाउँपालिकाले कडाइ गर्ने तयारी गरेको छ । कार्यालय समयबाहेक अन्य समयमा सरकारी मोटरसाइकल नचलाउन भनेर गाउँपालिकाले सूचना नै जारी गरेको छ ।

चलाउनै पर्ने अवस्थामा पास लिएर चलाउन भनिएको छ । चाडबाडको समयमा हुने मेला पर्व तथा अन्य कार्यक्रमहरु बेलुकी ६ बजेभित्र समापन गर्नुपर्ने, मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवन र जुवातासजस्ता गतिविधि पूर्ण रुपमा रोक्ने निर्णय भएको छ ।

 

सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका लागि स्थानीय सरकारले आवश्यक निर्णय गरेको अध्यक्ष नरबहादुर पुनले बताए । शान्ति सुरक्षा कायम गर्नु प्रमुख दायित्व स्थानीय सरकारको भएकाले निर्णय गरेर पनि कार्यान्वयनका लागि परेको अध्यक्ष पुनले बताए ।कान्तिपुरमा खबर छ।