२ महिनामा ९ करोडको आलु प्याज

वीरगञ्ज, असोज १७ । वीरगञ्ज भन्सार कार्यालय भएर आर्थिक वर्ष २०७६र७७ को पहिलो दुई महिनामा करिब साढे नौ करोडको आलु र प्याज भित्रिएको छ । भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन र भदौ महिनामामात्र साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो । गत आर्थिक वर्ष २०७५र७६ को पहिलो दुई महिनामा सात करोड ३५ लाख २३ हजार ५८५ रुपिया मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक २०७६र७७ वर्षमा दुई करोड दुई लाख ९३ हजार रुपियाँले बढेर नौ करोड ३८ लाख १७ हजार ४०३ रुपियाँ बराबरको आलु प्याज भित्रिएको हो ।

 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोका अनुसार आर्थिक वर्ष २०७६÷७७ को साउन र भदौ महिनामा तीन करोड चार लाख ८३ हजार ३७३ रुपिया बराबरको १३ लाख ९३ हजार ९०० किलो आलु वीरगञ्ज भन्सार नाका भएर भित्रिएको छ ।

 

त्यस्तैगरी आर्थिक वर्ष २०७६÷७७ को साउन र भदौ महिनामा छ करोड ३३ लाख ३४ हजार २९ रुपियाँ बराबरको २२ लाख १६ हजार ३५० किलो प्याज वीरगञ्ज भन्सार नाका भएर भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷७६ को साउन र भदौ महिनामा दुई करोड आठ लाख ३६ हजार ९८ रुपियाँ बराबरको नौ लाख ८४ हजार तीन सय किलो आलु र पाँच करोड २६ लाख ८७ हजार ४८७ रुपियाँ बराबरको १६ लाख ८५ हजार तीन सय किलो प्याज वीरगञ्ज भन्सार नाका भएर भित्रिएको थियो ।

 

यसरी एक वर्षकै अन्तरालमा आलु प्याज आयातमा दुई करोड दुई लाख ९३ हजार रुपियाँको आलु र पाँच लाख ३१ हजार ५० किलो प्याज बढी आयात हुनुले आलु प्याजमा देश परनिर्भरतातर्फ बढ्दैगएको देखिन्छ । बारा र पर्सा जिल्लामा आलु प्याज खेती राम्रो हुने गरे पनि व्यावसायिक तरकारी खेतीमा आलु र प्याजको पर्याप्त खेती नगरिँदा आवश्यक पर्ने आलु र प्याजका लागि भारतको नै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

 

भारतमा यस वर्ष बाढी र डुबानका कारण आलु एवं प्याजको राम्रो उत्पादन हुन नसकेकाले पछिल्लो समयमा यसको मूल्य आकासिएको व्यापारी बताउँछन् ।

वीरगञ्ज बजारमा आलु ५० देखि ६० रुपियाँ र प्याज १२० देखि १३० रुपियाँमा खुद्रा दरमा बिक्री भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ।