दशैको छैटौं दिन आज कात्यायनी देवी दुर्गाको पूजा गरिँदैं

काठमाडौं,असोज १७  । नवरात्रको छैटौं दिन आज कात्यायनी देवी दुर्गाकाको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा छ ।

 

कात्यायनीको उत्पत्तिबारे पुराणमा यस्तो कथन पाइन्छ, कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भनिएको हो ।

 

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

 

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा आराधना गरिन्छ । यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।