सुध्रिएनन् टिपर चालक

ठक्कर दिँदा बुधबार चितवनका सुनिल अधिकारीको मृत्यु भयो ।

मोटरसाइकल पछाडि सवार अधिकारीको घटनास्थलमै मृत्यु भयो भने, चालक हिराबहादुर बानियाँ घाइते भए ।

 

बानियाँको ओमसमाज अस्पतालमा उपचार भइरहेको छ । गत भदौमा तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले आइतबार राति सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भयो ।

 

तीव्र गतिमा आएको टिपरले कार्गो कार्यालयनेर बा ८५प ५६९, बा ३८प २३९३ र ना ४३ प ८७३५ नम्बरका तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । बा८५प ५६९ नम्बरका चालक छाङबुङ भोटे, ना ४३प ८७३५ नम्बरका चालक प्रमोद धिताल घाइते भए भने बा ३८प २३९३ नम्बर मोटरसाइकलका चालक भोटेको मृत्यु भयो ।

 

उपत्यका ट्राफिक महाशाखाको तथ्यांक हेर्दा साउनदेखि असोजसम्म टिपरकै ठक्करबाट ३ जनाको मृत्यु भइसकेको छ । टिपर र ट्रकको ठक्करबाट मानिसको मृत्यु भएको यो नौलो घटना होइन । प्रत्येक वर्ष टिपर र ट्रकको ठक्करले मृत्यु र घाइते हुनेको संख्या बढ्दो छ । तर, यसलाई नियन्त्रण तथा न्यूनिकरण गर्ने प्रयास भएको देखिँदैन । एक वर्षअघि स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटी चोकमा बा ४ ख ३५५० नम्बरको टिपरले किचेर मृत्यु भयो । गत वर्ष जेठमा भक्तपुर सागामा टिपरकै कारण हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो ।

 

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ मा मात्र २ हजार ७ सय ६२ जनाको दुर्घटनामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक छ । मुलुकभर २१ हजार ६ सय ५४ सवारी दुर्घटना भएका थिए । निर्देशनालयकाअनुसार टिपर र ट्रकसँग जोडिएका ८० प्रतिशत दुर्घटनामा चालकको लापरबाही देखिएको छ ।

 

सवारी दुर्घटना र त्यसबाट घाइते र मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । आव २०७३–७४ मा १६ हजार ५ सय १५ वटा दुर्घटना भएका थिए । त्यसमा टिपर र ट्रकका कारण मात्र भएका दुर्घटना २ हजार २ सय ३० वटा थिए । दुर्घटनामा २ हजार ३ सय ८४ जनाको मृत्यु भएको थियो । यस आर्थिक वर्षमा चालकको लापरबाहीले गर्दा भएका दुर्घटना संख्या ७ हजार ४ सय ८७ थिए । आव ०७४–७५ मा १८ हजार ३४ वटा दुर्घटना भएका छन जसमा टिपर र ट्रकका कारणले मात्र २ हजार ४ सय ३० दुर्घटना भएका थिए । कान्तिपुर दैनिकमा खबर छ।