मदिरा बिक्रीवितरणमा रोक

डोटी,असोज १८ । चाडपर्वलाई लक्ष्य गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा र तिहारमा दुईदुई दिन मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधि निरुत्साहन गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकार भएका निकायसितको समन्वयमा उक्त निर्णय गरिएको उहाँले बताउनुभयो । दशँैमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएकोसमेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो,होटेल व्यवसायी र मदिरा व्यवसायीसँग चाडबाडमा मदिरा बिक्रिबितरण बन्द गर्ने सहमति भएको छ, सोहीअनुसार सबैले नियम पालना गर्नुपर्ने छ ।

यसअघि पनि स्थानीय प्रशासनले चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए ।

 

यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा यहाँका बजार क्षेत्रमा स्थानीय तहसहितले बजार अनुगमन गरिरहेका छन् । यस्तै सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताएको छ ।रासस