सरकारले गर्‍यो चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण तालिका विज्ञप्तिमार्फत् सार्वजनिक

काठमाडौँ,असाेज २२ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले १२ र १३ अक्टोबर (असोज २५–२६)गते नेपाल भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

 

मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

 

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन्। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ ।

 

त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । योसँगै, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् ।

 

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।