नेकपाको राष्ट्रवाद कालापानी पुगेर विलय भयो : देउवा

 काठमाडौं,मंसिर ९।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको राष्ट्रवाद कालीपानीमा पुगेर विलय भएको आरोप लगाउनुभएको छ। उहाँले सो आरोप आइतबार बाग्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लगाउनुभएको हो।

 

उहाँले भन्नुभयो– ‘हरहिसाबले असफल भइसकेको यो सरकारले नेपालको भूमि भारतको नक्सामा परे पनि उचित पहल गर्न सकेन।’ देउवाले कम्युनिस्ट नेताको असली राष्ट्रवादको हविगत अहिले देखिएको उल्लेख गर्नुभएको छ।

 

यसअघि शनिबार पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाउनुभएको थियो।‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो। ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन’, उहाँले भन्नुभयो– ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धिमै महाकाली पूर्वनेपाल उल्लेख छ।

 

महाकालीको पानी पनि आधा हक लाग्छ।’ ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ। ‘यिनीहरू राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्।’ –उहाँले भन्नुभयो। ओली सरकारले भ्रष्टाचार बढाएको पनि उहाँले बताउनुभयो।

 

हरेक ठाउँमा भ्रष्टाचार बढेको, अनावश्यक कर बढाएको, संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बनाउन खोजेको उहाँको आरोप थियो। देउवासहित कांग्रेसका शीर्ष नेता शुक्रबारदेखि चुनाव केन्द्रित कार्यक्रममा सहभागी भइराखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाल, गगन थापालगायत नेता चुनावी सभामा सहभागी भएका छन्।नेपाल समाचारपत्रमा खबर छ।