‘सीमा विवाद समाधान गर्न प्रमाण जुटाउँछौँ’

काठमाडौँ, मङ्सिर १३  । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा विवादलाई कूटनीतिक संयन्त्र र राजनीतिक माध्यमबाटै समाधान निकालिने बताउनुभएको छ । सरकारका प्रवक्ता बाँस्कोटाले त्यसका लागि ब्रिटिस म्युजियम, अभिलेखालयलगायत स्थानबाट समेत सरकारले तथ्य, तथ्याङ्क र प्रमाणहरू सङ्कलन गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले ऐतिहासिक दस्तावेजहरूको खोजबिन हुनु जरुरी रहेको चर्चा गर्दै तथ्य र प्रमाणका आधारमा स्थापित हुने अधिकारलाई भारतीय पक्षले पनि हाम्रो सार्वभौमसत्ताका रूपमा सम्मान र स्वीकार गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “पुर्खाको नासोका रूपमा रहेको जमिनको अधिकार स्थापित गर्ने कुरा हो । यसका लागि हाम्रा प्रमाणहरू जुटाउँदै जान्छौँ । ” उहाँले कूटनीतिक र राजनीतिक माध्यमबाटै निष्कर्ष निकाल्ने र त्यसका लागि सरकारले कूटनीतिक निकायमार्फत प्रक्रिया थालिसकेको स्पष्ट पार्दै भन्नुभयो, “लिम्पियाधुरामा हाम्रो अधिकार स्थापित गर्ने यो राष्ट्रिय अठोट हो । यो राष्ट्रिय सङ्कल्प हो । त्यसमा पनि हामीले दशी प्रमाण भनेकै छौँ । यो कुनै ठूलो देश र सानो देशको कुरा मात्रै गरेका छैनौँ । 

उहाँले भारत र चीनसितको सिमाना यकिन गर्न सरकारले समिति नै बनाइसकेको र तीन महिनाभित्र त्यसले आफ्नो प्रतिवेदन बुझाउने स्पष्ट पार्नुभयो । लिम्पियाधुरा र कालापानीको विषयमा सबै दल र जनताबाट ऐक्यबद्धता पाउनु सरकारको शक्ति र सामथ्र्य भएको उहाँले बताउनुभयो । उहाँले राष्ट्रियताजस्तो विषयमा दृढतापूर्वक, धैर्यपूर्वक र सार्वभौमिकताको पक्ष सुनिश्चित हुने गरी मिडियाले समेत साथ दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीद्वारा धन्यवाद

प्रवक्ता बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको बताउनुभयो । प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेर प्राथमिकतासाथ समाचार प्रकाशन गर्नुभएकोमा सञ्चारकर्मीलाई समेत प्रवक्ता बाँस्कोटाले धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यति बेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । 

रुसी राष्ट्रपतिलाई निम्ता

प्रवक्ता बाँस्कोटाले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल सुनिने र देखिने बताउने सरकारको राष्ट्रिय नीति नै रहेको स्पष्ट पार्दै रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हार्दिक निम्ता रुसी राष्ट्रपतिलाई पठाएका छौँ । परराष्ट्र मन्त्रीले रुसी समकक्षीलाई भेटेरै निम्ता दिनुभएको छ । हामी आशावादी छौँ । ” उहाँले भन्नुभयो, “शक्तिराष्ट्र र अरू सबैसँग मित्रता राख्न चाहन्छौँ । त्यो कति सफल हुन्छ, त्यो देखिँदै जाने छ । 

पारवहन सुविधामा नयाँ दिशा

मन्त्री बाँस्कोटाले नेपाल–भारत पारवाहन सन्धि पुनरवलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकले अत्यन्त सकारात्मक दिशा पक्रिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सहसचिवस्तरीय वार्ताले अत्यन्त सकारात्मक दिशा पक्रिएको छ । खासगरी नदीजडित जलमार्ग, नयाँ पोर्ट, द्विपक्षीय व्यापार तथा पारवहन, थप बन्दरगाह सुविधा लिने विषयमा सहमति भएको छ । 

उहाँले नेपाल र भारत सरकारको बीचमा एउटा विशिष्ट प्रकारको नयाँ पारवहन सन्धि नवीकरण भई जलमार्गको पहुँचसमेत समावेश भएर नेपालले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल–भारत पारवहन सन्धि पुनरवलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय मङ्सिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

भूमिसम्बन्धी एकीकृत विधेयक आउने

सरकारले भूमिसम्बन्धी समस्यालाई वैज्ञानिक र उत्पादनमुखी बनाउन भूमिसम्बन्धी एकीकृत कानुन बनाउने भएको छ । सो प्रयोजनका लागि मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिएको छ । मन्त्री बाँस्कोटाले भूमिसम्बन्धी समस्यालाई एकीकृत रूपमा समाधान गर्न, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न र आत्मनिर्भर बन्न विधेयकले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।गाेरखापत्रदैनिकमा खबर छ।