एक हजार परिवार ४४ वर्षदेखि लालपुर्जाविहीन

काभ्रेपलाञ्चोक,मङ्सिर २१ ।जिल्लाको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४४ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साबिक पीपलटार गाविसका खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका हुन् ।

 

गाउँपालिका–७ का ३६५ र ८ का ५८९ पीडित परिवारसँग ४४ वर्षदेखि आफ्नो जमीनको लालपुर्जा नभएको ८ नंका वडाध्यक्ष मोतिलाल तामाङले बताउनुभयो । उहाँका अनुसार लालपुर्जाविहीन भूकम्पपीडितसँग जग्गाको कागजात नभएको जनाइएपछि दुई वर्षपछि मात्रै सरकारी राहात अनुदान उपलब्ध गराइएको हो । “भूकम्पको २ वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बनाउन थालेका थिए”, तामाङले भन्नुभयो ।

 

जग्गाधनीले जमीन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनीयरले दिएको निस्साको आधारमा गत विसं २०७४ को कात्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । त्यसअघि परिचयपत्र, नागरिकता भए पनि जग्गाको लालपुर्जा नभएका कारण भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । सरकारले लालपुर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै २०७५ भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि बनाएपछि यहाँका एक हजार लालपुर्जाविहीनले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् ।

 

यसैबीच, भुम्लु गाउँपालिकाको ४४ वर्षदेखि लालपुर्जाविहीन दुईवटा वडाका करिब एक हजार परिवारलाई पुनः नापी गरी लालपुर्जा वितरण गर्न जिल्लास्थित नापी कार्यालयले शुक्रबार ८ नं वडास्थित भुम्लुमा फिल्ड कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको काभ्रेपलाञ्चोकका प्रतिनिधिसभा सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार उक्त कार्यालयको उद्घाटन गर्नुभयो ।

 

सरकारको राष्ट्रिय नीति ‘छानो, नानो र मानो’ विहीन नागरिक नहोस् भन्ने उद्देश्यअन्तर्गत भुम्लुटारका ती दुई वडाको समस्या तत्कालै हल गर्न फिल्ड कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालीन एमालेको सरकारले ६० हजारलाई जग्गा वितरण गरेको थियो, अहिलेको सरकारले कोही पनि जमीनको मालिक बन्नेबाट वञ्चित गराउँदैन ।

 

दुवै वडाको ७५ प्रतिशत नापी तथा लालपुर्जा निर्माणको काम सकिएपछि वितरणको काम शुरु गरिने नापीप्रमुख कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार वडा नं ७ मा पनि लगत्तै अर्को फिल्ड कार्यालय स्थापना गरी चार महिनाको समयमा उनीहरुलाई लालपुर्जा वितरणको काम सकिनेछ ।

 

भुम्लु गाउँपालिका–८ का चित्रबहादुर श्रेष्ठले लालपुर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएकामा खुशी व्यक्त गर्नुभयो । “हामी निकै खुशी भएका छौँ, अब जग्गा बेचबिखन तथा बैंकिङलगायतका काम गर्न सजिलो हुने भयो”, उहाँले भन्नुभयो । स्थानीयवासी सन्तमाया तामाङले पनि आफ्नो जग्गाको लालपुर्जा पाउने भएपछि निकै खुशी भएको बताउनुभयो ।रासस