स्थानीय तहमा टिक्दैनन् अधिकृत : १६० भन्दा बढी स्थानीय तह अधिकृतविहीन

काठमाडौं,मंसिर २६ । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दाङ उपमहानगरपालिका बाहेक बाँकी १० वटै उपमहानगरपालिका, १ सय १० नगरपालिका र ६० गाउँपालिकामा प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।

 

प्रशासकीय अधिकृत नहुँदा कामकारबाहीमा समस्या उत्पन्न भइरहेको गुनासो सर्वसाधारणको छ । मन्त्रालयले भने कर्मचारी समायोजनलगायत कारणले कर्मचारी अभाव भएको र छिट्टै पदपूर्तिको क्रम थालिने बताएको छ ।

 

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले लोकसेवा आयोगबाट स्थानीय तहमा कर्मचारी सिफारिस भएको र तिनीहरूलाई छिट्टै पदस्थापन गरिने तयारी गरिएको जानकारी दिए ।

 

‘कर्मचारीकै अभावमा स्थानीय तहमा पदपूर्ति गर्न सकिएको छैन अब भने छिट्टै पूर्ति गरिनेछ ।’ सहसचिव अधिकारीले भने । उनले लोकसेवाबाट सिफारिस भई आएका अधिकृतलाई योग्यताक्रम (मेरिट)को आधारमा पदस्थापन गरिने बताए ।आजको राजधानी दैनिकमा खबर छ।