टोखा–छहरे सुरुङमार्गको अध्ययन गर्न चिनियाँ टोली टोखामा

काठमाडौं, पुस १२ । बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौ आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो ।

 

त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौंको उत्तरी भेग टोखा पुगेको हो ।

 

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट र नीति तथा कार्यक्रममा समेत यस सुरुङमार्ग लाई विशेष प्राथमिकतामा राखेको छ । चालु आवमा सुरुङमार्गको सर्भे रिपोर्ट तयार पार्ने लक्ष्य सरकारले राखेको छ । टोखा–छहरे सुरुङमार्ग करिब ४ किमी लम्बाइ हुनेछ।

 

यसैगरि, चौडाइ डबललेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ । यस अघि गरिएको एक अध्ययनका अनुसार यस सुरुङमार्ग निर्माणपछि जम्मा साढे दुई घण्टामा नै काठमाडौदेखि रसुवागढीसम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ । यस सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ ।

सुरुङमार्ग काठमाडौंको टोखाबाट नुवाकोटको थानसिङ फाँट वा बुढीसेरा तर्फ निस्कने छ । यस प्राविधिक टोलिले सम्पूर्ण परिक्षणपछि दिने बिस्तृत अध्ययनपछि मात्र नुवाकोट तर्फको सुरुङ विन्दू तय हुने छ । यो सुरुङमार्गबाट वेत्रावतीसम्म पुग्न करिब ३४ किमि सडक निर्माण गर्ने योजना समेत बनाइएको छ ।

 

अहिले सरकारले मुलुकको संघिय राजधानी काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने सबैभन्दा छोटो दूरीको रुपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले चिनियाँ प्राविधिक टोली शुक्रबार बिहानै फिल्ड सर्भेकालागि टोखा पुगेको जानकारी दिए ।

 

उनले यस प्राविधिक टोलीले आगामी एकमहिना लगाएर सुरुङमार्गको स्थलगत अध्ययन पुरागरि प्रतिवेदन तयार पार्ने जानकारी दिए । चिनियाँ प्राविधिक टोलीले सुरुङमार्गको सुरु हुने र निस्कने दुबै ठाउँको स्थलगत अवलोकन तथा नापजाँच गर्ने छन् । यस टोलीले सन् २०२० को मार्चसम्ममा प्रतिवेदन तयार गरी चीन सरकारलाई बुझाउने छ । त्यसपछि सो प्रतिवेदन चीन सरकारले औपचारिक रूपमा नेपाललाई उपलब्ध गराउने छ ।

 

हाल नेपाल आएका चिनियाँ प्रविधिक टोलीमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका प्रमुख सहित जियोलोजी, टनेल र हाइवे इन्जिनियर लगायत छन् । सरकारले हाल यही सुरुङ मार्गलाई लक्षितगरि वेत्रावतीबाट रसुवागढीसम्म एसियाली मापदण्ड अनुसारको डबल लेन सडक निर्माण गरिरहेको छ । चिनियाँ अनुदान सहयोग र नेपालको आफ्नै लगानीमा सो सडक निर्माण भइरहेको हो। यस सडक र सुरुङमार्ग लक्ष्य अनुरुप निर्माण गर्न सके काठमाडौबाट रसुवागढी सबैभन्दा छोटो दूरीमा पुग्न सकिन्छ ।

 

यस सुरुङमार्ग निर्माणबारे तीनवर्ष अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । सो अध्ययनले यस सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।