बाजुराबाट सेनाको हेलिकप्टरले २ जना सुत्केरीको उद्धार

बाजुरा,माघ १८ । बाजुरा जिल्लाको दुर्गम गाउँपालिका स्वामिकार्तिक र जगन्नाथबाट एकै दिन दुई जना सुत्केरीको उद्वार गरिएको छ। सेनाको हेलिकप्टरबाट  स्वामीकार्तिक खापर गाउँपालिका वडा न २ की गिता बिक र जगन्नाथ गाउँपालिका वडा न ५ की २१ बर्षिया श्रृजना सार्कीको उद्धार गरिएको छ।

 

साप्पाटा फयाल गाउँकी गिताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राप भएका कारण गाउँको स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएका कारण हेलीकप्टर मार्फत नेपालगंज उपचारका लागि लगिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। चौथो सन्तानका रुपमा छोराको जन्म दिएकि ३५ बर्षीया बिकको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेका कारण उद्वार गरिएको हाे। 

 

त्यसै गरि गोत्रीकी श्रृजनाको १५ गते देखीको लामो ब्याथा लागेको र पहिलो गर्भवती भएकीले पाठेघरको मुख नखोलीदा समस्या भएको कारण उनलाई पनी हेलिकप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायीका स्वास्थ्य ईकाइले जनकारी दिएको छ। पाठेघरको मुख नखुलेको र दुखाई बढि भएकोले गाउँमा उपचार सम्भव नभएपछि उनलाई पनी उपचारका लागि नेपागंज स्थित कोहलपुर मेडिकल कलेजमा लगिएको एक स्थानीयले   जानकारी दिएका छन् ।

 

गोत्रीमा केही महिना अगाडी उच्च रक्तश्रापका कारण एक जना सुत्केरीको मृत्यू भइसकेको छ ।

 

गाउँपालिका अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा खवर पाईसकेपछि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने र जिल्ला अस्पताल बाजुरा का प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयको सहयोगमा दुबै जना सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालि बहादुर शाहीले बताएका छन् ।

 

हिजो दिउँसो  स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चीरन्जीवी शाही र जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले खवर गरे लगत्तै आफुले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलीकप्टर पठाएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

 

यहाँका ग्रामिण क्षेत्रका गर्भवती महिलाहरु जोखिममा हुने गरेका छन् । नियमित स्वास्थ्य जाँच नगर्ने, स्वास्थ्य संस्थामा पनि आवश्यक औषधी र जाँच उपकरण अभावका कारण यस्ता महिलाहरुले समयमै उपचार पाउन सकिरहेका छैनन् । यही कारण कतिपयको अकालमा ज्यान नै जाने गरको छ ।