एमसीसी सम्झौता जलाउन खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ३ जना पक्राउ


काठमाडौं,फाल्गुन १३ । एमसीसी सम्झौता जलाउन खोज्ने क्रममा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मंगलबार दिउँसो काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी जलाउने क्रममा विद्यार्थीका केन्द्रिय अध्यक्ष गजुरेल, केन्द्रिय सदस्य सुलब वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जगत साहीलाई प्रहरीले पक्राउ गरेको हो ।

एमसीसी सम्झौता, भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधिनता लगायतको पक्षमा काठमाडौंमा निकालिएको शान्ति र्याली पछि कोण सभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेकालाई भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । अखिल क्रान्तिकारीले मंगलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेट अगाडि कोण सभा गरेको थियो ।