छोराबाट आमा बलात्कृत

चितवन,फागुन १३। आफैँले जन्माएको छोराबाट बलात्कृत हुँदाको पीडा कल्पनासम्म गर्न सकिँदैन । तर, चितवनमा एक आमा आफ्नै छोराबाट बलात्कृत भएकी छन् । प्रहरीमा छोराले नै बलात्कार ग¥यो भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

 

भरतपुर महानगरपालिका वडा नम्बर–२७ मा गत फागुन १० गते राति ७० वर्षीया महिलाले जीवनमै नसोचेको घटना भोग्न प¥यो । सुतिरहेको अवस्थामा आफ्नै २८ वर्षीय छोराले बलात्कार गरेपछि घटनालगत्तै उनले छरछिमेक र आफन्तलाई भनिन् । उनले फागुन ११ गते नै जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा आई छोराविरूद्ध बलात्कार गरेको आरोपमा उजुरी दिइन् ।

 

रातको समयमा घरमा अन्य व्यक्तिहरु नभएको अवस्थामा छोराले बलात्कार गरेको भनी उजुरी दिएपछि आरोपित छोरालाई फागुन ११ गते नै पक्राउ गरी मुद्दा चलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

 

पीडितको फागुन ११ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । छोराको बानी–व्यवहार ठीक नभएको स्थानीय बताउँछन् । आमा भेट्न माइत आएकी छोरी पनि दाजुसँगको डरले सो रात अर्कै बहिनीको घरमा गई सुतेको जानकारी परिवारजनले प्रहरीलाई गराएको छ ।

 

हाडनाता करणीअन्तर्गत पर्ने बलात्कारको यस्तो प्रकृतिको घटना पहिलो भने होइन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बाबुद्वारा छोरी बलात्कार भएका केही घटना प्रहरीमा आउने गरेकोमा आफ्नै छोराबाट आमा बलात्कारको घटना भने पहिलोचोटि सार्वजनिक भएको हो ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले मानवअधिकार वर्ष पुस्तक–२०२० सार्वजनिक गरेअनुसार सन् २०१९ मा बागमती प्रदेशभित्र १३ जिल्लामा भएका बलात्कारका घटनामा ६६ प्रतिशत बालिका पीडित भएका छन् । बलात्कारका ३८६ वटा बलात्कारको घटनामा २५३ जना बालिका र १३३ जना महिला पीडित भएका हुन् ।