३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै

काठमाडौं, फागुन २६ । ३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन् । उनीहरू तस्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन् । तीनैजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि पक्राउ परेका थिए । दुबई प्रहरीले उनीहरूलाई तारेखमा राखे पनि नेपाल फर्काउन भने मानेको छैन । उनीहरूको दुबईमा सुन पसल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीमा लगानी छ ।

 

सुरुमा युएई प्रहरीले पक्राउ परेकाविरुद्धको सम्पूर्ण कागजपत्र पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । सोहीअनुसार प्रहरीले उनीहरूविरुद्धका प्रमाण पठाएको थियो । तैपनि नेपाल ‘डिपोर्ट’ गर्न मानेको छैन । स्रोतका अनुसार पछिल्लो समय उनीहरूले औपचारिक माध्यमबाट आउन आग्रह गरेका छन् । औपचारिक माध्यम भनेको सुपुर्दगी सन्धि हो । तर, नेपाल र युएईबीच यस्तो सन्धि छैन । जसकारण उनीहरूलाई नेपाल ल्याउन समस्या भएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि प्रहरी प्रधान कार्यालयले गृह, परराष्ट्र मन्त्रालय हुँदै युएई सरकारलाई पत्राचार भने गरेको छ ।

 

विगतमा दुई देशका प्रहरीबीचकै समन्वयमा कतिपय अभियुक्तलाई दुबईबाट ल्याइएको छ । सुन तस्करीमै संलग्न गुप्तलाल भुसाल, बेनु श्रेष्ठ, राजन पन्तलगायतलाई दुबईबाट पक्राउ गरी ल्याइएको थियो । त्यतिवेला केही महिनापछि नै युएई प्रहरीले निष्कासन गरिदिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।