बाजुरामा अज्ञात रोगको संक्रमणले २ जना नाबालकको मृत्यु, दर्जनौ बिरामी

बाजुरा,चैत्र ७ । स्वामिकार्तिक खापर गाँउपालिकामा देखिएको अज्ञात रोगको संक्रमणबाट दुई जना नाबालकको ज्यान गएको छ । गाँउपालिका २ नम्बर वडा पुडेनीका चतुरे थापाका ४ महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मकला बिकको मृत्यु भएको स्थानीय आनन्द बुढाले बताएका छन् ।

 

बुढाका अनुसार थापाको ३ दिन अगाडि र विकको ५ दिन अगाडि मृत्यु भएको हो । गाउँमा दर्जनौ व्यक्तिहरु विरामी परेको बताईएको छ । ज्वरो आउने, खोकी लाग्ने र हात खुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मिना बुढाका छोरा आनन्द बुढाले बताएका छन् ।

 

फयालगाउँमा मात्र २२ जना बढी विरामी थला परेको बुढाले जानकारी दिएका छन् । सानादेखि ठुलासम्म सबैलाई संक्रमण देखिएको र निश्चित उमेर समूहका नभएको बताइएको छ । एकाएक सिंगो साविक साप्पाटा गाविस हालको स्वामिकात्र्तिक १ र २ नम्बर वडा अज्ञात रोगको संक्रमण देखिएको स्थानीय शिक्षक जनेश भण्डारीले बताएका छन् ।

 

यता स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने प्रभावित स्थानमा टोली खटिसकेको बताएका छन् । पन्तका अनुसार विक आमाले डोकामा कपडाले बेरेर काममा गएर फर्किदा मृत अवस्था भेटिएको र थापाको रुघाखोकी देखिएपछि स्वास्थ्य इकाइ केन्द्रमा उपचार गराएर निको नभएपछि स्थानीय मेडिकलबाट औषधी ल्याएर खुवाएपनि मृत्यु भएको बताएका छन् ।

 

फयाल गाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, चुवाना, छुदरी, सुपेना, लौडी सहितका गाउँमा एकसाथ संक्रमण फैलिएको छ । गएको दुई महिना पहिले मात्र सो क्षेत्रमा भाइरल ज्वरोको संक्रमण देखिएको थियो । गाउँमा विरामीको संख्या धेरै रहेको खबर प्राप्त पछि गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकोले शुक्रबारसम्म रिर्पोट आउने पन्तको भनाई छ ।

रुघाखोकीकै जस्तो लक्षण देखिएपनि स्वास्थ्य परिक्षण पछि मात्र थाह हुने १ नम्बर वडाका अध्यक्ष जनक बहादुर रोकायाले बताएका छन् । ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएकोले रुघाखोकीकै जस्तो लक्षण देखिएको रोकायाको भनाई छ ।

 

विश्वलाई त्रासमा राखेको कोरोना भाइरसकै जस्तो नमुना लक्षण देखिएको भन्दै स्थानीय त्रसित बनेको बताईएको छ । गाउँपालिकाले प्रभावित ठाउँमा स्वास्थ्य कर्मीको टोली पठाइसकेको बताएको छ । अहेब विर्ज विक सहितको टोली पुगीसकेको खबर प्राप्त भएको छ ।

 

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले २ जनाको ज्यान गएको र केही विरामी परेको जानकारी पाए लगत्तै स्वास्थ्य कर्मी पठाएर संक्रमण बारे जानकारी लिने कार्य सुरु गरिएको बताएका छन् । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दुरीमा पर्छ । प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले पनि संक्रमण फैलिएको खबर प्राप्त भएको बताएका छन् ।

 

प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले स्वास्थ्य कर्मी प्रभावित भनिएको गाउँतिर पठाईसकेको बताएका छन् । प्रकोप फैलिएपछि विरामी नभएकाहरु पनि त्रसित बनेका छन् । साप्पाटा मार्तडीबाट दुई दिनको पैदल दुरीमा छ । भने पीलुचौरसम्म जिप सेवा सञलन भएकोले तीन घण्टाको पैदल पछि पुगिन्छ ।राजधानी दैनिकबाट