भिसा अवधि थप्नेको भीड

काठमाडौँ, चैत ७ । कोरोनाको सङ्क्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइ लम्बाउने गरेका छन् । नेपालबाट सीधा हवाई उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भई आफ्नो देशमा जान सम्बन्धित देशले उडान रोकेका कारण पोखरामै बसाइ अवधि लम्बाएका हुन् ।

 

सिङ्गापुरबाट नेपाल घुम्न आएका सिरिल थोमस बेसाञ्जर ३० दिनअघि पोखरा आएका थिए । पोखरासहित लुम्बिनी, काठमाडौँका विभिन्न ठाउँ घुमिसकेको र अब फर्किने बेलामा कोरोना सङ्क्रमणले स्वदेश फर्किन नपाएकाले अन्नपूर्ण पदयात्रा गर्ने सोचका साथ बसाइ लम्बाएको बताए । उनले सोका लागि पोखरास्थित अध्यागमन कार्यालयमा सोमबार भिसा थपका लागि आएको बताएका छन् ।

 

अस्ट्रेलियन नागरिक हेरीले पनि कोरोनाको कारण देखाउँदै पोखरामै म्याद थप गरी बसेको बताए । ३० दिनको भिसा लिएर आएका उहाँले भारत हुँदै नेपाल प्रवेश गरेको बताएका छन् । हेरीले लुम्बिनी, पाल्पा, पोखरा, मुस्ताङसम्मको यात्रा गरिसकेको बताएका छन् । थप केही दिनका लागि पोखरामै बस्ने समेत बताएका छन् । यस्तै, पोखरा घुम्न आएका चिनियाँ पर्यटक पिङ कोन पिन पनि बसाइ लम्बाउँदै एबीसी ट्रेकमा जाने तयारीमा रहेको बताए ।

 

उनले अध्यागमन कार्यालयमा भिसासमेत थप गरेको बताए । उनीहरूसँगै पोखरा घुम्न आएका पर्यटकले अध्यागमन कार्यालयमा धमाधम भिसा थप्न थालेको कार्यालयका प्रमुख चेतराज आचार्यले बताए । उनका अनुसार तेस्रो मुलुकबाट आउने पर्यटकबाट तीनरचार दिनयता धमाधम भिसा थप भएको छ । गत वर्षको माघ र फागुन महिनामा कुल एक हजार ६६ जनाले भिसा थपेर बसाइ लम्बाएका थिए तर चालू आवको माघ र फागुनमा ९९४ जनाले भिसा थप गरेका छन् ।

 

गत वर्ष २०७५र७६ मा सात हजार ४६४ जनाले भिसा थप गरेकोमा चालू आवको फागुन मसान्तसम्म कुल चार हजार ५५ जनाले भिसा थपेका छन् । चीनबाट फैलिएको कोरोना विश्वका अधिकांश मुलुकमा प्रवेश गरिसक्दा नेपाल भने हालसम्म सुरक्षित रहेको सरकारी अधिकारीले दाबी गरेका छन् । जसका कारण तेस्रो मुलुकबाट पोखरा घुम्न आएका पर्यटकले यहाँ सुरक्षित ठानी बसाइ लम्बाउने गरेका जनाएका छन् । आजको गोरखापत्र दैनिकबाट