सरकारले ल्यायो राहत प्याकेज : विद्युत महसुलदेखि विद्यालय शुल्कसम्मका विभिन्न छुटैछुट

काठमाडौं, चैत, १६ । सरकारले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो ।

 

मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशत छुट पाउनेछन् । विद्युत, खानेपानी, टेलिफोन शुल्क फागुन र चैत महिनाको महसुल भुक्तानी वैशाख मसान्त बुझाएमा बिलम्ब भुक्तानी वा जरिवाना लाग्ने छैन ।

दुरसञ्चार कम्पनीले लकडाउन अवधिमा इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिनेछ भने निजी सेवा प्रदायकले पनि यस्तो छुट दिनुपर्नेछ ।

 

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुको हालको मूल्यमा १० प्रतिशत छुट दिइने भएको छ । यसैगरी, सवारी चालकको लाइसेन्स, रुट परमिट लगायतको नवीकरण गर्ने समय पनि वैशाख मसान्तसम्म थप गरिएको छ । र, यो अवधिमा कुनै बिलम्ब शुल्क लिइने छैन ।

 

माध्यमिक तहसम्मका निजी स्कुलहरुले पनि एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट दिनुपर्नेछ भने शहरी क्षेत्रका असंगठित श्रमिकहरुको एक महिनाको घरभाडा छुट दिन घरबेटीहरुलाई सरकारले औपचारिक रुपमै आग्रह गरेको छ । यसो गरेमा सरकारले घरबेटीहरुलाई एक महिनाको घर बाहल कर छुट दिइनेछ ।

 

यस्तै, पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पूरै तलब दिनुपर्नेछ ।

 

व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठान स्तरको कल्याणकारी कोषको रकम उपयोग गर्न सक्नेछन् भने सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्नेछ ।

 

सरकारी, निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणहरु आयात गर्दा भन्सार छुट दिनेछ भने टीटीको सीमालाई ३० हजारबाट बढाएर एक लाख डलर पुर्‍याइएको छ । यस्तै, निजी स्वास्थ्य संस्थाहरुको चैत महिनाको सेवा शुल्कमा २० प्रतिशतसम्म छुट दिने सरकारले घोषणा गरेको राहत प्याकेजमा उल्लेख छ ।

 

व्यवसायीहरुले मुल्य अभिबृद्धि र आय कर तिनुपर्ने समय २०७७ बैशाखसम्म थप गरिएको छ भने कोरोना उपचार कोषमा योगदान गरेको रकम कर योग्य आयमा घटाइनेछ ।

 

वैदेशिक रोजगारीमा लिएर श्रम स्वीकृति लिएर जान नपाएका वा फर्किएकालाई स्थानीय तहमार्फत् रोजगार केन्द्रमा दर्ता गराउने र प्रधानमन्त्री रोजगार कार्यक्रममा परिचालित गर्ने निर्णय पनि सरकारले गरेको छ ।सरकारले आयातमा केही रोक पनि लगाएको छ ।

 

५० हजार डलर(६० लाख)भन्दा माथिका सवारी साधान आयातमा हाललाई रोक लगाइएको छ । यस्तै, मदिरा, मरिच, सुपारी, केराउ, छोकोडा आयातमा पनि रोक लगाइएको छ भने दैनिक सुन पैठारीलाई २० बाट १० किलोमा झारिएको छ ।

 

यस्तै, लकडाउनभन्दा अगाडि गरिएका सबै खरिद सम्झौताको म्याद एक महिना थप्ने निर्णय भएको छ । चैत महिनामा बैंक ग्यारिन्टीको अवधि सकिने भए बिना दस्तुर लकडाउन खुलेको एक महिनासम्म कायम राख्ने प्याकेजमा उल्लेख छ ।

 

मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।अनलाइन खबरबाट,