कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको घोषणा

 काठमाडौं,चैत, १८ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

 

पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।

 

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

लकडाउनमा गैह्रजिम्मेवार हुने छुट कसैलाई छैन

पूर्वराजा शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने बताएका छन् ।

 

शाहले भनेका छन्, ‘यो अवस्थाबाट मुक्त हुन ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’

 

महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै पूर्वराजाले आफ्नो वक्तव्यमा भनेका छन्, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पु¥याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।

 

त्यसैगरी, आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै पूर्वराजाले यसको उच्च सराहना गर्ने बताएका छन् ।

कोरोनाले मानव सभ्यतामा चुनौती

कोरोनाले मानव समुदायमा त्रास र सभ्यतामाथि नै चुनौती दिएको पूर्वराजाको ठम्याइ छ ।

पूर्वराजाले वक्तव्य जारी गर्दै भनेका छन्, ‘विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ।

 

मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति सम्वेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भैसकेको शाहको भनाइ छ ।अनलाइन खबरबाट,