दैनिकी न्युजले सक्रिय पत्रकारलाई निशुल्क प्रेस ज्याकेट वितरण गर्ने

ललितपुर, वैशाख ३ । कोरोना भाइरस (कोभिड–१९) फैलिरहेका बेला सर्वसाधारण घरभित्रै भएपनि कतिपय पेशाका व्यक्तिहरु भने सडकमा निस्कनुपर्ने अवस्था छ ।

 

अन्य पेशाजस्तै सञ्चारकर्मीले पनि यतिबेला जोखिमलाई चिर्दे आफ्नो पेशागत धर्म निभाइरहेका छन् ।

यस्तोबेला आफूलाई सुरक्षित राखेर सूचना प्रवाह गर्नतिर सञ्चारकर्मीको ध्यान छ । तर, उनीहरुलाई रिर्पोटिङमा निस्कदा सरकारले कुनै सुरक्षा व्यवस्था गरिदिएको छैन ।

आफूसँग भएको सञ्चारकर्मीको परिचयपत्र बोकेर उनीहरु निर्वाध रिर्पोटिङमा खटिएका छन् ।

 

जोखिमपूर्ण अवस्थामा रिर्पोटिङ गर्न निस्कने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै दैनिकी न्यूज डटकमले निःशुल्क रुपमा प्रेस ज्याकेट वितरण गर्ने भएको छ ।

यो ज्याकेट लगाएपछि बाहिर सहजै निस्कन सकिने र प्रहरीले पनि पहिचान गर्न सजिलो हुने भएपछि अप्ठेरोको बेला यस्तो वितरण गर्न लागिएको दैनिकी न्यूजका सम्पादक रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार १ सय थान ज्याकेट विहीबारदेखि वितरण शुरु गरिनेछ ।

 

सञ्चारमाध्यम र आवश्यकता हेरेर उनीहरुलाई ज्याकेट दिइनेछ । पत्रकार महासंघ तथा अन्य निकायहरुले पत्रकारहरुको लागि आवश्यकता अनुसारका सुरक्षा सामग्री उपलब्ध गराउन नसकेपछि उनीहरुको सुरक्षामा ध्यान राख्दै ज्याकेट वितरण गर्न लागिएको हो ।

ज्याकेट उपत्यकाका सञ्चार माध्यमका कार्यरत पत्रकारहरुका लागि वितरण गरिने छ । ललितपुरबाट सञ्चालित दैनिकी न्यूज डटकम अनलाईन ४ वर्षयता सूचना प्रवाहमा अग्रसर छ ।