सानको साधन बन्यो सवारी पास

काठमाडौं, बैशाख ३ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लङ्घन गर्ने र पासको दुरुपयोग हुने क्रम बढेको छ । अनावश्यक व्यक्तिहरुले विभिन्न बहानामा वा झुटा विवरण पेश गरेर पास लिने गरेको पाइएको छ । पासको दुरुपयोग भएपछि त्यसको नियन्त्रण कडाइ थालिएको छ । पास दिन र दिएको पासको दुरुपयोगबारे आजदेखि कडाइका साथ अनुगमन शुरु भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पासको दुरुपयोग रोक्न पहिले लिएको पासलाई निरन्तरता दिँदै अब भने मृत्यु संस्कार, बिरामी र मलामीका लागि मात्रै पास दिने जानकारी दिए । आज प्रशासनले विज्ञप्ति जारी गरी पास दुरुपयोग भएकाले नियन्त्रण गर्न लागिएको जनाएको छ ।

 

अघिल्लो हप्ता एक व्यक्तिले आफन्त बितेको भनेर पास लिएका थिए । उनले त्यो पासबाट यात्रु बोकेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । सान देखाउनका लागि समेत पास लिने गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न बहानामा यसरी पास लिने बढीरहेकाले अहिले सडकमा सवारी आवागमन समेत बाक्लिएको छ । सरकारले अत्यावश्यक कामका लागि मात्रै पास लिन अनुरोध गरेको छ ।

 

यसअघि दिइएको पहेँलो रङ्को पास भने कायमै राखिएको छ । केही दिनदेखि ई–पासको व्यवस्था गरिए पनि त्यसको समेत दुरुपयोग हुन थालेपछि रोक्न लागिएको हो । ‘घरमा बसेर जथाभावी सन्देश पठाएर पास माग्ने गरेको देखियो, सात हजार बढीको ई–सन्देश आइसकेको छ, त्यसलाई रोक्नुको विकल्प छैन, बहाना बनाएर पास लिने बढे’, प्रजिअ दाहालले भने ।

 

प्रहरीले पास लिएर गुड्ने सवारी साधनले दुरुपयोग समेत भएको पाइएपछि अनुगमनमा समेत कडाइ थालेको छ । लकडाउन अबधिमा पास लिएरसमेत धेरै सङ्ख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो ।

 

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायाबधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ जाँच र कारबाही गने थालेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनले भने, ‘अत्यावश्यक काम बाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक रुपमा बाहिर निस्किन तथा पास छ भनेर सान देखाउँदै हिड्ने गरेको भेटियो, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी गर्नेछ ।

 

प्रहरीका अनुसार उपत्यकामा अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने आठ हजार ९७४ सवारी साधन होल्ड तथा एक हजार ८४६ वटा पासको दुरुपयोग गरी गुडेको सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई पनि कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । यसरी दुरुपयोग गरेको पाइएमा भने लकडाउन अवधिभर नै सवारी साधन राखिने जनाइएको छ ।

 

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त जाँच हुने गरेको छ । जाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलावा पासको प्रयोग, अनुमति प्राप्त व्यक्ति भए नभएको सोधपुछसमेत गर्नेछ ।

 

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । सरकारले लकडाउनलाई थपेर वैशाख १५ गतेसम्म जारी गर्ने निर्णय गरिसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा १६ जना सङ्क्रमित भएका छन् । रासस