कोरोना संक्रमणबाट निको भएकी बाग्लुङकी ६५ वर्षीया महिलाको वृत्तान्त

 

अरू दिनजस्तै म मोबाइलमा दोहोरी गीत सुनेर बसेकी थिएँ। साँझ ५ बजेतिर होला, बाग्लुङ बजारमा बस्ने ठूली छोरीले फोन गरिन्।

 

फोन कानमा हाल्नासाथ छोरीले ुआमा रिपोर्ट नेगेटिभ आयोु भनेर सुनाइन्।

सुरूमा त मैले पत्याइनँ।

योभन्दा अगाडि पनि सबैले यसै भनेका थिए, तर पछि पोजेटिभु नै भन्ने भयो।

छोरीले फोन राख्नासाथ डाक्टरहरूले पनि नेगेटिभ आयो भनेर सुनाउनुभयो। त्यसपछि बल्ल विश्वास लाग्यो। लगत्तै धेरैको फोन आयो। सबैले एउटै कुरा भन्थे, आमा हामी तपाईंको आत्मबल देखेर छक्क पर्यौं।

 

मलाई त सुरूदेखि यो भाइरसलाई जित्छु भन्ने विश्वास थियो। दोस्रो नतिजा पोजेटिभ आउँदा पनि दुःख लागेको थिएन। जहिले भए पनि यसलाई जितेरै छाड्छु भन्ने थियो। आज जितेरै छाडेँ।

हुन त अर्को नतिजा पनि नेगेटिभ आउनुपर्छ रे। तर आज राम्रो आयो भनेपछि त्यो त झन् राम्रो आउला नि?

हिजो बिहान परीक्षण गर्नलाई मेरो स्वाब झिकेर लगिएको थियो। हिजैबाट यो नतिजा चाहिँ राम्रै आउँछ भन्ने लागेको थियो। मनको कुनामा कताकता थोरै डर पनि थियो। डर मान्नुहुन्न भनेर छोराछोरीले सम्झाउँथे। त्यसले मभित्र आँट भर्थ्यो। त्यही आँटले मलाई केही हुन्न भन्ने लाग्छ।

 

आज पनि म अरू बेलाजस्तै बिहानै उठेँ। झ्यालबाट यसो हेरेँ, डाँडाकाँडा छ्याङ्ग भएको रहेछ। पानी तताएर खाएँ। त्यसपछि फेरि फोनमा गीत सुन्न थालेँ। मेमोरी लाग्ने सानो फोन छ। त्यसैमा नातिहरूले गीत राख्दिएका छन्। त्यही सुनेर दिन काट्छु। बीचबीचमा छोराछोरी र आफन्तसँग कुरा भइरहन्छ।

 

बिहान १० बजेतिर खाना खाएँ। त्यसपछि एकैछिन आराम गर्न भनेर ढल्किएँ। यसरी नै दिन बित्छ। आज भने यस्तो खुसीको खबर सुन्न पाइयो। खुसीको कुरा अरूलाई सुनाउँ भनेको सबैले थाहा पाएर आफैं फोन गरे।

 

अरू बेलाभन्दा आज निकै मिठो निद्रा लाग्ला जस्तो छ। सुरू सुरूमा त निदाउनै सक्दिनथेँ। मनमा के-के कुरा खेलिरहन्थ्यो। तै पनि आफूलाई कहिल्यै कमजोर हुन दिइनँ।

 

सुरूमा कोरोना पोजेटिभ देखियो भन्दा पनि म आत्तिएकी थिइनँ। छोराहरूले सुनाएका थिए। त्यसपछि एम्बुलेन्स घरमै लिन आउने कुरा थियो। पछि एम्बुलेन्सको चालक भाग्यो भन्ने कुरा आयो। विचरा उसलाई पनि यो रोग सर्छ भनेर ज्यानको माया लागेको होला।

चालक भागेपछि अस्पताल भोलि जाने कुरा भयो। म सुत्न गएँ।

केही बेरमै बुहारी ुआमा आजै अस्पताल जानुपर्ने रेु भन्दै आइन्। सबै कुरा ठिक पार्न थालियो। एक टोली घरमा आयो। त्यसपछि गाडीमै मलाई अस्पताल पुर्याए। एउटा कोठमा लगेर राखे। केही पर्यो भने फोन गर्नू भनेर उनीहरू विदा भए।

 

त्यो रात त काट्नै गाह्रो भयो। यो कस्तो रोग हो भन्ने थाहा पनि थिएन। केही दिन त्यस्तै भयो। विस्तारै सबै कुरा थाहा हुँदै गयो।

 

छोराछोरीले फोन गरेर सम्झाइरहन्थे। बेल्जियमबाट कान्छी छोरीले पनि फोन गरिरहन्छिन्। म फागुनमा तिनै छोरी भएकामा गएकी थिएँ। घुम्न पाइएला भनेर सोचेकी थिएँ, तर खोइ के रोग आयो घुम्नै पाइएन। त्यसपछि त घरभित्रै बसिरहन्थेँ। छोरीलाई टिभीमा दोहोरी लगाइमागेर त्यही हेरेर बस्थेँ।

 

मलाई बेल्जियममा हुँदा पनि केही लक्षण देखिएको थिएन। अलिकति छाती दुख्थ्यो। त्यो त दमको रोग भएकाले हुनसक्छ। १५ वर्ष भयो दम भएको। अहिले पनि औषधि खाँदैछु। नेपाल आएपछि पनि ज्वरो, खोकी केही भएन। यहाँ पनि अलिअलि छाती दुख्थ्यो। त्यो पनि अहिले ठिक छ।

 

उताबाट आएपछि बाहिरतिर गइनँ। दमको बिरामी भएकाले धेरै हिँडडुल पनि गर्न सक्दिनँ। घरमा २० महिनाको नाति छ। उसलाई नै खेलाएर बस्छु। टोलका केही महिला आँगन भएर हिँड्थे, उनीहरूसँग कुरा गर्थें।

 

पछि मसँगै बेल्जियमबाट आएकी नातिनी पर्नेलाई संक्रमण देखिएपछि मन आत्तियो। त्यसपछि एक्लै बस्न थालेँ। तर लक्षण केही नभएकाले मलाई त संक्रमण छैन होला भन्ने लागेको थियो। पछि नतिजा पोजेटिभ आउँदा छक्कै परेँ।

 

यसरी संक्रमणसँग जुधेको १५ दिनभन्दा बढी भइसक्यो। अब त मनमा डर छैन। आत्मबल बलियो बनाएर बस्यो भने केही नहुने रहेछ। त्यो त आजको नतिजाले नै थाहा हुन्छ नि।

 

नतिजा नेगेटिभ आए पनि म धेरै खुसी छैन। मसँगै आएकी नातिनीको पोजेटिभ आएछ। दुवैको नेगेटिभ आएको भए कति राम्रो हुन्थ्यो। बेल्जियमबाट सँगै आयौं, अस्पतालबाट पनि सँगै जानुहुन्थ्यो।

 

मलाई त नातिनीको पोजेटिभ आयो भन्दा छक्कै लागेको छ। उनी त झन् मभन्दा कम उमेरकी छिन्। खोइ के हो मैले त बुझ्नै सकिनँ। म यहाँबाट भोलि घर जाँदा पक्कै उसलाई नराम्रो लागिहाल्छ। उनी झन् मभन्दा पहिले अस्पताल भर्ना भएकी हुन्।

 

मलाई भोलि घर पुगेर कतिबेला त्यही २० महिने नातिलाई हेरूँ भन्ने भाएको छ। सानैदेखि मैले नै हुर्काइरहेको छु। उसकी आमा घाँसदाउरा गर्दा मैले नै हो उसलाई खेलाउने। अस्पतालमा बस्दा पनि त्यही नातिको मात्र झझल्को आउँछ।

 

हिजो बुहारीले फोन गरेर उसलाई बोल्न दिएकी थिइन्। तोते बोलीमै मा..मा..भन्दै थियो। त्यो सुन्दा त नाति आफ्नै आँखा अगाडि भएजस्तो लाग्यो। धेरै बोल्नै सकिनँ।

 

मैले नानी म छिट्टै आउँछुु भनेर फोन राख्दिएँ। त्यही नातिको झझल्को मेट्न पनि अस्पताल धेरै बस्नु नपरोस् भन्ने भएको छ। सेतोपाटीका विवेक राईले गरेको कुराकानी,