उदयपुरमा थप एक भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख,६ । नेपालमा कोरोना संक्रमण थप एक जनामा पुष्टि भएको छ ।उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तिन जना निको भएर घर फर्किएका छन् ।