नुवाकोटमा काँग्रेसको जिल्लास्तरीय राहत कोष स्थापना

नुवाकोट, बैशाख ८ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले कोरोना भाइरस सङ्क्रमणको सङ्कटमा जनतालाई सहयोग गर्ने उद्देश्यले ‘नेपाली काँग्रेस जिल्लास्तरीय राहत कोष’ निर्माण गर्ने निर्णय गरेको छ ।

 

पार्टीले सरकारी नेतृत्वभित्रै समेटिएर कोरोनाविरुद्ध देशलाई योगदान गर्दै आएको र यसमा दृढ रहेको उल्लेख गर्दै नुवाकोट काँग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले यो सङ्कटसँग जुध्न सरकारको एक्लो प्रयास पर्याप्त नहुने भन्दै उक्त कोष निर्माण गरिएको जानकारी दिए ।

 

यो सङ्कटसँग जुध्न काँग्रेसलाई सामाजिक उत्तरदायित्वप्रति अझ जिम्मेवार र संवेदनशील बनाएको उल्लेख गर्दै उनले नागरिकलाई महामारी र भोकमरीको सङ्कटबाट जोगाउन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँग छलफलपछि आज यो निर्णय गरिएको जानकारी दिए । पार्टीका सबै नेता तथा कार्यकर्ताहरूले आफ्नो हैसियत अनुसारको नगद रकम वा तत्काल नबिग्रने गुणस्तरीय उपभोग्य सामग्री सिधै वा सम्बन्धित वडा, गाउँ र नगर समितिमार्फत कोषमा जम्मा गर्न जिल्ला कार्यसमितिले अनुरोध गरेको छ ।

 

कोषमा जम्मा हुने रकम वा राहत सामग्री जुन गाउँ वा नगरका बासिन्दाबाट प्राप्त भएको हो सोही गाउँ वा नगरका लागि वितरण गरिने छ । पार्टीका सांसद र सांसद उम्मेदवारले उपलब्ध गराउने रकम भने सम्बन्धित निर्वाचन क्षेत्रभित्र र केन्द्रीय नेताहरूका तर्फबाट प्राप्त हुने रकम जिल्लाभित्र वितरण गरिने सभापति केसीले बताए ।

 

कोषमा प्राप्त रकम र जिन्सीबाट राहत वितरण गर्दा एकद्वार प्रणाली अनुसार प्रजिअमार्फत सम्बन्धित पालिका वा वडासँग समन्वय गरी खाद्यान्न राहतमा प्रयोग गर्ने व्यवस्था गरिएको छ । कोषमा जम्मा गर्ने रकम नेपाल बैंक लिमिटेड विदुरको खाता नम्बर ००२६११००२८६११०००००१ मा जम्मा गर्नुपर्ने र सहयोग गर्ने दाताको नाम हरेक दिन प्रकाशित गरिने नुवाकोट काँग्रेसले जनाएको छ । रासस