दश डीआईजीको पदस्थापन कुन प्रदेशमा काे ? हेर्नुहोस

काठमाडौं, वैशाख ८ । एसएसपीबाट डीआईजीमा बढुवा भएका १० डीआईजीको आज पदस्थापन भएको छ । मन्त्रीस्तरको वैशाख ७ गतेको निर्णयले १० जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो ।

 

आईजीपी ठाकुरप्रसाद ज्ञवालीले उनीहरूलाई आजै दर्ज्र्यनी चिह्न प्रदान गरे । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेश वसन्त लामा, गण्डकी प्रदेश धनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

 

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, प्रकाशजंग कार्की प्रहरी एकेडेमी र अरुण बीसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । यसअघि सीआईबीमा रहेका डीआईजी नीरज शाहीलाई प्रहरी प्रधान कार्यालय र प्रदेश दुईमा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोमा लगिएको छ । प्रहरीमा जनपदतर्फ १४ डीआईजी छन् ।

 

प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटि जाने प्रहरी अधिकृतहरुले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिए । साथै स्थानीय तहसँग आवश्यक सहकार्य एवम् समन्वय गरी आफ्नो दायित्व निर्वाह गर्नुपर्ने ज्ञवालीले बताए ।