राहतमा कुहिएको दाल बेचेको आरोपमा मेयर राजेश राय पक्राउ

 बारा,वैशाख ९। बाराकाे कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् ।राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए।

 

कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । जसमा कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन रहेका छन् ।

 

त्‍यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो।

 

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम  कोल्ड स्टोरमा शनिबार शिलबन्दी गरेको थियो।

 

कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्। उनी यादवका छोरा हुन्।त्‍यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो।