प्रधानमन्त्रीज्यू ! सर्वेन्द्र खनाल र महेश बस्नेतलाई के पुरस्कार दिने हाे ?

 काठमाडौं ,वैशाख११। देशमा अहिले कोरोना भाइरसको ‘ट्रेसिङ’ अर्थात् खोजी चलिरहेको छ । सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ) जनकपुरधाममा डा.सुरेन्द्र यादवलाई खोज्नतिर लागे ।

 

कोरोनासँग लड्नका लागि डाक्टर यादवको खोजी भएको होइन । खनाल, बस्नेत र श्रेष्ठ ‘राजनीतिक भाइरस’ले पोलेर डाक्टर खोज्नतिर लागेका हुन्।

बुधबार बिहान ११ बजेतिर उनीहरूले समाजवादी पार्टीका सांसद डा.यादवलाई ट्रेसिङ गर्न सफल भए । सफल नहुन् पनि कसरी, पूर्वआइजी सर्वेन्द्र ‘खतरा कमाण्डर’ मानिन्थे प्रहरी संगठनमा हुँदा ।

 

रातारात उठाएर काठमाडौं ल्याइएका सांसद यादव भन्छन्, ‘हामीसँग पनि पीएसओ थियो । पीएसओबाट पनि लोकेसन ट्रेस भइहाल्छ । म यहाँ छैन भन्न पनि मिलेन । मेरो मोबाइल आफ्नै गाडीमा छुटेको थियो, घरमा खबर थिएन । म जनकपुरका लागि निस्केको थिएँ ।

 

सर्वेन्द्र, महेश र किसानले आफूलाई काठमाडौं लैजाने गरी भेट्न आएको सांसद यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरबाटै जानकारी गराएका थिए।