लकडाउन उल्लङ्घन गर्ने एक लाख नियन्त्रणमा

काठमाडौँ, वैशाख १७ । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म बन्दाबन्दी उल्लङ्घन गर्ने करिब एक लाख जनालाई नियन्त्रणमा लिई छाडिसकिएको नेपाल प्रहरीले जनाएको छ ।

 

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक निरजबहादुर शाहीले बन्दाबन्दीको अवधिमा अहिलेसम्म करिब एक लाख जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई तथा कोरोना रोग सङ्क्रमणबारे जानकारी गराई छोडिसकिएको जानकारी दिनुभयो ।

 

मङ्गलबार मात्र मुलुकभरि एक हजार ९७५ जना र एक हजार २४५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरी प्रवक्ता शाहीले दिनुभयो ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले मङ्गलबार काठमाडौँ उपत्यकामा बन्दाबन्दी उल्लङ्घन गर्ने एक हजार एक सय सवारी साधन र करिब एक हजार दुई सय जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छोडिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।