क्रान्तिकारी ट्रेड युनियन महासंघको वक्तव्य : मजदुरहरुको लागि विशेष राहत प्याकेज ल्याउन जोडदार माग

१३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना !

नोबेल कोरोना भाइरसको चुनौती र यसको रोकथामलाई लिएर अगाडि बढाईएका कदमको परिणाम आर्थिक क्षेत्रमा विश्वव्यापी महामन्दी सृजना भएको छ । यो महामन्दिले विश्वको श्रम बजारमा सबैभन्दा ठूलो प्रहार गरेको छ ।

विश्वका करोडौं श्रमिकहरुले पुर्ण रुपमा रोजगार गुमाएका छन । नेपालको कुल श्रम शक्तिको आधा अर्थात झण्डै ६० लाख श्रमिकहरु वैदेशिक रोजगारीमा छन र ती क्षेत्रहरूमा श्रमिकहरुले ठुलै चुनौती र संकटको सामना गर्नु परेको छ ।

 

अनौपचारिक श्रम बजारमा क्रियाशिल २० लाख भन्दा धेरै श्रमिकहरुको रोजगारी गुमि सकेको छ भने औपचारिक क्षेत्रका श्रमिकहरुको समेत रोजगारी गुम्न र तलब कटौती हुन सक्ने स्थिति देखा परेको छ ।

 

वैदेशिक रोजगारीमा आएको संकट संगै स्वदेशमा फर्कन खोजी रहेका श्रमिकहरुलाई रोजगारीको व्यवस्था, स्वदेशमा अनौपचारिक क्षेत्रका श्रमिकहरु माथी आएको संकट समाधान गर्न विशेष राहतका योजना र औपचारिक श्रमिकहरुको रोजगारी र तलबको निरन्तरताका लागि सरकार र सरोकारवाला सबैमा दबाब सृजना गर्न अब ढिलाइ गर्न हुन्न ।

 

यहि विषम परिस्थितिका बिचबाट “श्रमिक वर्गले भोगिरहेको अपुर्व संकटहरुको सामना गरौं, नयाँ संकल्प र उज्यालो सृष्टि गर्दै १३१ औं मे दिवस मनाऔं !” भन्ने उद्घोषका साथ आज हामी १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउदै छौं ।

 

यो महान अवसरमा मजदुर वर्गको गौरवशाली इतिहासलाई कायम राख्ने संकल्प सहित विश्व श्रमिक वर्गमा १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं । धन्यवाद ! क्रान्तिकारी अभिवादन सहित !

अध्यक्ष ईश्वर तिमिल्सिना

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ