कांग्रेसले ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न माग

काठमाडौं, बैशाख २१ । नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

 

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १० बजेदेखि शुरु भएको आगलागी आज बिहान ५ बजे नियन्त्रणमा आउँदासम्म ८ घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो । काँग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ ।

 

काँग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् । साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

सात करोड क्षति

सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । शनिबार सङ्कलन गरिएको प्रारम्भिक विवरण अनुसार सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ ।

 

सोमध्ये व्यक्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० को क्षति भएको पाइएको हो । आगलागीले आठ घर जलेका थिए । अन्य केही घरमा आंशिक क्षति भएको थियो । आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले आठ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो । रासस