साउदीमा ६७४ जना नेपाली कोरोना संक्रमित

काठमाडौं, बैशाख ३१ । साउदीमा ६ सय ७४ जना नेपाली कोरोना संक्रमित भएका छन् । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार ६ सय ७४ जना नेपाली कोरोनाबाट संक्रमित भएको जानकारी दिएको साउदी स्थित नेपाली राजदुतावासले जनाएको हो ।

 

प्राप्त विवरण अनुसार क्षेत्रगत विभाजनलाई हेर्दा साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजान मा १ सय ४८ जना नेपाली कोरोना संक्रमित भएका छन् ।

 

रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना र हायल क्षेत्रमा ३ जना संक्रमित भएको दूतावासले जानकारी दिएको छ । साथै अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित बताइएको छ । कुल संक्रमितमा ११ जना नेपाली महिला रहेको छन् ।

 

संक्रमित भएका मध्ये कैंयौँ जना निको भई काममा फर्किसकेको दूतावासले बताएको छ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका ३१ नेपाली नागरिकहरु मध्ये एक जना नागरिकको कोरोना संक्रमणबाट मृत्युभएको छ ।

 

तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

मंगलबार साउदी अधिकारीले दिएको जानकारी अनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९सय ११ जनामा संक्रमण भएको छ ।

 

कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । मंगलबार एकै दिन २५ सय २० जना निको भएका छन् ।

 

मंगलबार ९ जना सहित जम्मा २ सय ६४ जना संक्रमितको मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।गोरखापत्र दैनिकमा खबर छ।