एकैदिन कोरोना संक्रमित थप ४५ जनामा पुष्टि

काठमाडौं,जेठ,१४ । प्रदेश २ मा  थप ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको थियाे ।संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।

 

 रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

 

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएका हुन् ।

त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना ४१ वर्षीय व्यक्ति रौतहटका बासिन्दा हुन् ।

 

सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।