नेपाल प्रहरीका ६० जना डिएसपीहरूको पदस्थापन ,८४ जनाको सरूवा

 काठमाण्डौ,जेठ १६ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको पदस्थापन तथा सरूवा गरेको छ ।

 

गत सोमबार देखि लागू हुनेगरी कार्यालयले ६० जना डिएसपीहरूको पदस्थापन र ८४ जनाको सरूवा गरेको हो।

 

हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट डिएसपी पदमा बढुवा भएका ६० जनाको पदस्थापन भएको हो ।

 

डिएसपी पृथ्वीनारायण ओलीको पदस्थापन सुदुरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर, कञ्चनपुरमा गरिएको छ । यसअघि उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा थिए ।

 

जिल्ला प्रहरी कार्यालय, गुल्मीमा डिएसपी केदारराज पन्तको पदस्थापन भएको छ । यसअघि उनी ईलाका प्रहरी कार्यालय चापको (क), स्याङ्जामा थिए ।

 

त्यस्तै डिएसपी प्रमेश विष्टको पदस्थापन महानगरीय प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र, काठमाडौंमा भएको छ । यसअघि उनी प्रहरी प्रधान कार्यालय साईबर ब्युरोमा थिए ।

 

जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसपी सुर्य बहादुर थापा, मकवानपुरमा ईन्द्र बहादुर राना, कैलालीमा प्रतिक विष्ट, झापामा राकेश थापा, बाँकेमा सुवास खड्का, कास्कीमा सुवास हमाल र कञ्चनपुरमा अमरबहादुर क्षेत्रीको पदस्थापन भएको हो ।

 

त्यसैगरी सरूवा भएका ८४ जना डिएसपी मध्ये महानगरीय प्रहरी वृत्त महाराजगन्जका उमेश लम्सालको सरूवा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो ईन्टिलिजेन्स महाशाखामा भएको छ ।

उनको ठाउमा रोशन खड्काको सरूवा भएको छ ।

 

महानगरीय प्रहरी वृत्त ठिमीमा ऋषिराम कंडेलको सरूवा भएको छ । यसअघि उनी प्रहरी प्रधान कार्यालय प्रशासन शाखा नक्सालमा थिए ।

 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा रहेका डिएसपी छेदीलाल कमातीको सरूवा संघीय प्रहरी ईकाई कार्यालय जनकपुरमा भएको छ ।

 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतको सरूवा भएको छ ।