रातिराति काठमाडौँबाट यात्रु ओसार्दै : चर्को भाडा असुल्दै यातायात व्यवसायी

काठमाडौँ,जेठ २६ । चाडबाडका बेला यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेको घटना कुनै नौलो होइन । अझ ग्रामीण सडकखण्डमा चल्ने सवारीसाधनहरुले त दोब्बर तेब्बरसम्म भाडा असुल्ने गुनासो सुनिन्छ ।

यतिबेला मुलुक लकडाउनमा रहेका कारण सवारी साधन ठप्प छ । पैदल हिँड्नसमेत कडाइ गरिएको छ । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लकडाउनको मौकामा रातिराति चर्को भाडा असुलेर यात्रुलाई बाहिर पठाउने गरेको पाइएको छ । यसरी यात्रु पठाउन ट्राफिक प्रहरीले नै सहयोग गरिरहेको आरोप लागेको छ।

केही सातायता राजधानीबाट रातको समयमा दर्जनौं गाडी यात्रु बोकेर बाहिरिने गरेका छन् । लकडाउनको बेला सवारी साधन चलाएर यातायात व्यवसायी र ट्राफिक प्रहरीको मिलेमतोमा चर्को भाडा असुल्दै कलंकी र कोटेश्वर नाकाबाट सयौं यात्रुलाई राजधानी बाहिर पठाउने गरिएको कलंकीमा कार्यरत एक ट्राफिक प्रहरीले रातोपाटीलाई बताए ।

‘हामी ड्युटी गर्ने हो, माथिको आदेश भएपछि रोकतोक गर्न सक्ने कुरा पनि भएन । गाडीहरु राती बाक्लै संख्यामा बाहिरिने गरेका छन्’, उनले भने ।

 

उनका अनुसार यसरी यात्रु पठाउँदा न पास हुन्छ न सवारी साधनमा स्वास्थय सावधानी नै अपनाइएको हुन्छ । असुरक्षित र पास बिनाकै भएपनि ती गाडी निर्वाध रुपमा गन्तव्यसम्म पुग्ने गरेका छन् ।

 

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित महासंघका केही पदाधिकारी चर्को रकम असुलेर यात्रुलाई बाहिर पठाउने कार्यमा संलग्न छन् भने सो कार्यमा केही ट्राफिक अधिकारीले नै सघाइरहेको स्रोतको भनाइ छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाललाई समेत गुमराहमा राखेर यात्रु पठाउने काम भइरहेको छ । आइतबार रातिमात्र ५० भन्दा बढी भाडाका सवारी साधनलाई कलंकी र कोटेश्वर नाकाबाट बाहिर पठाइएको थियो ।

 

गएराति गाडीमा रौतहट पुगेका एक यात्रुले आफूले अरुबेला भन्दा तेब्बर बढी भाडा तिरेर आएको बताए । तर गाडीमा कोरोनाको सम्भावित जोखिमबारे केही सावधानी नअपनाएको भन्दै उनले निकै समस्या भएकाले चर्को भाडा तिरेरै रौतहट आएको उनले बताए ।

 

देशभर यातायात ठप्प रहेको अवस्थामा यात्रुको समस्यामा सहयोगी बन्नुपर्नेमा उल्टै कमाउ धन्दामा लाग्दै अहिले रातको समयमा यातायात क्षेत्रमा कालोबजारी मौलाउन पुगेको हो ।

 

रातिराति चर्को भाडा असुलेर आफूखुसी मान्छेलाई बाहिर पठाउन थालिएको विषयमा महासचिव सिटौलालाई पटक–पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।

 

कलंकी बस्दै आएका गोर्खाका सुजन थापाले कलंकी क्षेत्रमा दिनहुँ रातको समयमा भिडभाड हुने गरेको बताए । लकडाउनको समयमा पनि गाडीको भिडभाड हुने गरेको भन्दै उनले आफूले यात्रु बनेर बुझ्दा बढी भाडा मागिएको बताए ।

 

रातोपाटीलाई प्राप्त जानकारीअनुसार कलंकीबाट भन्दा कोटेश्वर नाकाबाट धेरै सवारी साधनलाई विपी राजमार्ग हुँदै तराई पठाउने गरिएको छ । यसरी मिलेमतोमा मान्छेलाई बाहिर पठाउँदा सम्बन्धित निकाय भने मौन छ ।

 

बन्दाबन्दीका समयमा चर्को भाडा असुलेर आफूखुसी मान्छेलाई बाहिर पठाउन थालिएको विषयमा बुझ्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले स्थानीय निकायको पत्रबेगर मान्छे बाहिर नपठाइएको दावी गरे ।

 

उनले भने, ‘स्थानीय निकायको पत्र देखाएर काठमाडौँमा रहेका मान्छे लिन आएको गाडीहरुलाई मात्र पठाइदिने गरेका छौं । अन्यथा अन्य यात्रुबाट पैसा असुलेर गाडीमा हालेर पठाएका छैनौं ।

 

दिउँसो पनि पठाउन सकिन्थ्यो, रातिराति नै किन पठाउन पर्यो भन्ने प्रश्नमा डीआईजी पोखरेलले भने, ‘दिउँसोको समयमा एउटा गाडी निस्केपछि अरु गाडी निस्किनसक्छ । रातीको समयमा जुन गाडी जाने हो, त्यही गाडी मात्र सडकमा निस्किन्छ र, जान सजिलो हुन्छ ।

 

स्थानीय तहकै पत्रका आधारमा चलाइएको गाडीले समेत चर्को भाडा लिने गरेका छन् । यद्यपि डीआईजी विश्वराज पोखरेलसम्म पनि यस्तो गुनासो आएकाले यसबारे ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाललाई बोलाएर छलफल गर्ने तयारी गरेका छन् ।

 

रातिराति चर्को भाडा असुलेर मान्छे बाहिर पठाइएको गुनासो सुन्नमा आइरहेको भन्ने प्रश्नमा ट्राफिक प्रहरी प्रमुख ढकालले चेकजाँच बेगर कुनै पनि गाडीलाई बाहिर जान नदिएको दावी गरे ।

 

उनले भने, ‘सम्बन्धित निकायको पत्र आएपछि पत्रको आधारमा केही गाडीहरु बाहिर गएको होला । यद्यपी पैसा असुलेर मान्छेलाई बाहिर पठाइएको कुरा हल्ला मात्रै हो ।रातेपाटीबाट,