पहिरोमा पुरिएकाको उद्धारमा हिँडेको सेनाको गाडी दुर्घटना

 बझाङ,असार, २०।बझाङमा पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जना घाइते भएको छन् भने गाडीमा १५ जना सेनाका जवान सवार थिए । 

 

केदारस्युँ गाउँपालिकाको वडा नम्बर चार बाग्थला नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । शुक्रबार राति वर्षासँगै गाउँमा आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको थियो ।

 

अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् ।

 

वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षका छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठाराको शव भेटिएको छ ।

 

राममतीकी १६ वर्षीया छोरी अस्मितासँगै १५ वर्षीया शान्ति र २२ वर्षीय गिरी जेठारा अझै पेवत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरी जानकारी दिएकाे छ ।