क्रान्तिकारी माओवादीले ग-यो खोकनामा गरिएको राज्यआतंकका विरुद्ध विरोध प्रदर्शन

काठमाडौं,असार २६ ।  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश र सो पार्टी सम्बद्ध नेवाः राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त आयोजनामा खोकना र बुंगमतीमा निर्माणधिन फास्ट ट्रयाकसहित अन्य परियोजनाको विरोधमा उत्रेका किसानहरुमाथि सरकारले दमन गरेको भन्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ ।

 

‘विकास निर्माणको नाममा नेवाः सम्पदा मास्न पाइदैन, खोकनामा भएको राज्यआतंकाका विरुद्ध विरोधसभा’ लेखिएको ब्यानरसहित माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनमा क्रान्तिकारी माओवादी र नेवाः मुक्ति राष्ट्रिय मुक्ति मोर्चाका नेता कार्यकर्ताहरुले फास्ट ट्रयाकलाई खोकना बाहिर केन्द्रित गर्नुपर्ने माग गरेका थिए ।

 

विरोध प्रदर्शनको क्रममा आयोजित विरोधसभालाई क्रान्तिकारी माओवादीका पीवीएम तथा ३ नंं प्रदेशका इन्चार्ज दिनेश शर्मा, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले विरोध मन्तव्य राखेका थिए।

 


मन्तव्यको क्रममा वक्ताहरुले विकासको नाममा नेवाः जातिहरुको जातीय पहिचानसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक महत्वसमेत बोकेका साँस्कृतिक सम्पदाहरुहरुलाई समेत नष्ट गर्ने गरी गरिएको फास्टट्रयाकको जेरो प्वाइन्ट खोकनाबाट अन्यत्र सार्नुपर्नेमा जोड दिएका थिए ।

 

वक्ताहरुले खोकना र वंगमतीका स्थानीय किसानहरुको माग तत्काल सम्बोधन गर्न र विकासको नाममा स्थानीय नेवाः समुदायलाई सुकुम्बासी बनाउने कार्य तत्काल बन्द गर्न समेत जोडदार माग गरेका थिए ।

 

विरोधसभाको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा ३ नं.प्रदेशका सचिव सुरेश श्रेष्ठले सञ्चालन गरेका थिए ।
खोकना र बुंगमती हुँदै काठमाडौं–तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्रयाक)सँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटालाइट शहर, बाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ । फास्ट ट्रयाकका कारण खोकनाको कुदेश र सिकाली मन्दिरजस्ता साँस्कृतिक सम्पदाहरु मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

 

सरकारले सबै परियोजना एकै स्थानमा ल्याएर ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीका स्थानीयहरुले विरोध गर्दै आइरहेका छन् ।