रहस्यमय बन्दै नक्कली सुन काण्ड

काठमाडौं,साउन १६ । गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागे ।’ झोलामा दुई थान चाइनिज पेस्तोलसमेत रहेको पुष्टि भयो ।

 

 

तर, सूचना पाएर पिछा गर्दै जाँदा सुन फ्याँकेर भाग्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन । जबकि ठूलो परिमाणमा सुन जस्तै देखिने पदार्थ फ्याँकेर हिँड्ने सवारी साधनलाई प्रहरीले आफ्नो मातहतलाई खबर गरेर तत्कालै पक्राउ गर्न सकेन ।

प्रहरी अनुसन्धानमै शंका
घटनास्थल नै फेरियो

सुन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएर हतार हतार पत्रकार सम्मेलन डाकेको महानगरीय प्रहरी परिसर काठमाडौंले अन्त्यमा भेटिएकामध्ये साढे १४ किलो सुन नक्कली रहेको र त्यसमा आधा किलो मात्रै सक्कली सुन भएको पुष्टि ग¥यो । त्यस बखत गाडीमा आएकाहरू प्रहरीको चेकिङ देखेर गाडीबाट झोला फ्याँकेर भागेको प्रहरीले भनेको थियो ।

तर, बिहीबारसम्म आइपुग्दा प्रहरीले भनेको घटनास्थल नै गलत भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

 

‘कमलादीमा झोला फ्याँकेर गाडी भाग्यो भन्ने थियो तर अहिले सुन जस्तो पदार्थ कमलादीमा नभएर सुन्धारामा गाडीबाट फ्याँकेर भागेको देखियो,’ ती प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार घटनास्थलको मुचुल्कामा प्रहरीले झोला फ्याँकिएको स्थान सुन्धारा क्षेत्रलाई मानेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने प्रहरी अनुसन्धानमा क्राइम सिनलाई नै खोजेर अनुसन्धान गरिने बताउँछन् ।

 

‘अनुसन्धानका क्रममा घटना सुरु भएको र अन्त्य भएको स्थानसम्मको क्राइम सिन हेरिन्छ, त्यस क्रममा घटनास्थल फरक भएको हुन सक्छ, थप अनुसन्धान हुँदै छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलले राजधानीसँग भने ।

 

प्रहरीले बिहीबार दिउँसो सुन फ्याँकेर भागेको स्कार्पियोलाई ललितपुर नख्खिपोटबाट फेला पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले बा६च ५५१९ नम्बरको सो स्कार्पियो ललितपुर नख्खिपोटको बन्दै गरेको एक घरमा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।

 

स्रोतका अनुसार सो स्कार्पियो इनसाद हुसेन अन्सारी र कुल्साद बेगमको नाममा रहेको प्रहरी स्रोतले बताएको छ । तर, सोबारे प्रहरीले आधिकारिक रूपमा खुलाएको छैन । प्रहरीले बिहीबार नै सुन जस्तै देखिने पदार्थ फ्याँकेर भाग्ने तीन जनालाई समेत पक्राउ गरेको छ । उनीहरू पूर्वी नवलपरासीबाट पक्राउ परेको प्रहरीले बताएको हो । पक्राउ पर्नेमा गाडीसँगै फरार भएका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल छन् ।

हटाइए डिएसपी

सुन काण्डको अपरेसन गरेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई त्यहाँबाट सरुवा गरिएको छ । सुन काण्ड रहस्यमय बन्दै गएपछि डिएसपी दाहाललाई दरबारमार्गबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा लगिएको हो । उनको ठाउँमा प्रतिष्ठानमै रहेका डिएसपी रामेश्वर पौडेललाई पठाइएको छ ।

 

‘सो प्रकरणको छानबिन भइरहेकाले डिएसपी दाहाललाई छानबिनका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारीबाट हटाइएको हो,’ प्रहरी स्रोतले भन्यो । सुन काण्ड रहस्यमय बन्दै गएपछि त्यसबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

 

घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।राजधानी दैनिकमा खबर छ।