युवतीलाइ विवाह गर्छु भन्दै अनलाइन मार्फत ४८ लाख बढी रकम ठगी गर्ने विदेशी नागरिक पक्राउ

काठमाडौं,भदौ १। विदेशी नागरिकले अनलाईन मार्फत युवतीलाइ ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।राहदानी नम्बर एन ११७९७०१ वाहक विदेशी नागरिक ४८ वर्षीय उनलाई काठमाडौंकाे ठमेलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको थियाे।

 

पीडित युवतीले प्रयोग गर्ने सामाजिक संञ्जाल इन्स्टाग्राममा कोस्टाले आफूलाई (मार्क आरोन) नामले चिनाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भनि युवतीलाइ ठगी गर्दै आएको खुलेको छ। 

 

नेपाल आएर तपाईलाई विवाह गर्छु भनी नयाँ वर्षको अवसरमा हिराको हार, औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको भन्दै प्रलोभनमा पारी सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन रकम आवश्यक पर्‍यो भनेर पटक – पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ लिई युवतीलाइ ठगी गरेको खुल्न आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको छ ।

 

कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ, ९ सय अमेरिकी डलर,विभिन्न बैंकका एटीएम कार्डहरू, पाउडरको वट्टाहरू, १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकलहरू, टेप, पेपर कटर लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको छ । कोस्टा २०७६ फागुन २४ गते नेपाल आएको अनुसन्धानमा खुल्न आएको छ ।

 

 कोस्टालाइ ठगीको कसूर अनुसार थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।