मास्क नलगाइ हिँड्ढुल नगर्न आग्रह गर्दा युवाहरूको समूहले प्रहरीमाथि कुटपिट

कपिलवस्तु,भदाै २। प्रहरीले मास्क लगाएर हिँड्ढुल गर्न आग्रह गर्दा शुद्धोधन गाउँपालिकाको लबनी चौराहामा युवाको समूहले ६ जना प्रहरीमाथि कुटपिट गरेका छन्।

अस्थायी प्रहरी चौकी लबनीमा कार्यरत हवल्दार विनोद वरुण, जवानद्वय जियावन कोहार र महेन्द्र यादवमाथि युवाहरूकाे समूहले कुटपिट  गरेको प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

 

 उनीहरू मध्य तिनजना अलि बढी घाइते भएकाे र उनीहरुको रुपन्देहीको मणीग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरी स्राेतले जनाएकाे छ।  सामान्य अवस्थामा रहेका मुकेश यादव लगायत ३ प्रहरीको उपचार स्थानीय मेडिकलमा भइरहेको प्रहरीले जनाएको हाे।

 

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई मास्क नलगाइ कसैलाइ नहिँड्न निर्देशन गरेको थियो । उक्त अभियानमा खटिएका प्रहरीमाथि नै युवाहरूकाे समूहले हातपात गरेका छन्।  

प्रहरीले बाटोमा हिँडेका दुई युवालाई मास्क लगाउन भन्दै सम्झाइ–बुझाइ गरेर पठाएका थिए तर पछि उनीहरुले गाउँबाट युवाहरुको समूह बोलाएर प्रहरीमाथि नै कुटपिट गरेको प्रहरी स्राेतले बतायाे।कुटपिट गर्ने युवाको पहिचान भएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएकाे छ।