उपत्यकामा नगरपालिका फोरमको बैठकले १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने

काठमाडौं,भदौ ८  । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरा रोक्न उपत्यका नगरपालिका फोरमले पूर्व सकर्तता, रोकथाम र न्युनीकरणका योजना एकीकृत रुपमा कार्यान्वयन गरिरहेको छ ।

 

उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

 

बैठक अघि पदाधिकारीहरुले विज्ञहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

 

‘छलफल कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङकै विषयमा केन्द्रीत थियो ।’ बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठले भन्नुभयो, ‘ ट्रेसिङमा कोही पनि नछुट्ने गरी योजनाबद्ध काम गर्न हामीले सुझाव दिएका छौँ ।

 

अहिले उपत्यकामा परीक्षणको दायरा बढाउनुको अर्को विकल्प छैन । तर, परीक्षण बढाउने नाममा अनावश्यक व्यक्तिको टेष्ट गरेर श्रोत खर्च नगर्न हाम्रो सुझाव हो । प्रोटोकललाई ध्यानमा राखेर टेष्ट गराउनु पर्छ ।

 

यस अघि बसेको नगरपालिका फोरमको बैठकले उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न, तेश्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी एकीकृत क्वारेन्टिन र आइसोलेसनका लागि संघ सरकारसँग माग गरेको छ ।

 

क्वारेन्टिन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी संघीय सरकारले एकीकृत क्वारेन्टिन सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी माग अघि सारिएको हो ।