बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ

काठमाडौं,भदौ २१। बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ छन्।

 

उनलाई घरबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। निजविरुद्ध जिल्ला अदालतले विसं २०७६ साउन २९ गते दुई महिना पाँच दिन कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

 

त्यसयता फरार रहेका उनलाई पक्राउ गरी आज नै जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

पाँच प्रतिवादी पक्राउ

प्रहरीले बहुविवाह, लागुऔषध, जुवा र चोरी मुद्दाका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ। बहुविवाह मुद्दामा व्यास नगरपालिका–१२ सुपारेडाँडाका ३० वर्षीय करणबहादुर परियार पक्राउ परेका छन्।

 

निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ पुस १९ गते एक वर्ष छ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। निजलाई आजै पक्राउ गरी अदालत पेश गरिएकामा बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

 

त्यस्तै जुवा मुद्दामा फरार रहेका दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ बस्ने मङ्गलबहादुर पाख्रिन र रमेशकुमार श्रेष्ठ रहेका छन्।

 

निजहरुविरुद्ध जिल्ला अदालतले विसं २०७४ असोज २९ गते जनही तीन सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो। निजहरुलाई पनि आजै अदालत पेश गरिएकामा तोकिएको कैद भुक्तान गरी छुटेका छन्।

 

लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–१ बस्ने ३६ वर्षीय विष्णुबहादुर सुनारी पक्राउ परेका छन्। निजविरुद्ध जिल्ला अदालतले विसं २०७४ भदौ ८ गते दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

 

त्यस्तै, चोरी मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ बस्ने २० वर्षीय सुमित गुरुङ पक्राउ परेका छन्। निजविरुद्ध जिल्ला अदालत चितवनले विसं २०७३ चैत १३ गते तीन दिन कैदको फैसला सुनाएको थियो। पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। रासस