सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो अपडेट : तीन जनाको शव फेला, २८ जना अझै बेपत्ता

 काठमाडौं भदौ,२८। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ भुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पहिरोमा कम्तीमा २८ जना बेपत्ता भएका छन्।

 

पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ। 

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलका  घरहरु पुरेको छ । प्रहरीका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको जनाएकाे छ ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।